Thaha

Sunday 22 September - 2:11 am NST

आन्दोलनरत दलसंगको वार्ताका विषयमा आज मुख्य तीनदलले छलफल गर्ने, मधेसी मोर्चा सहमतिका लागि लचक


काठमाडौं, १३ असोज । अनौपचारिक छलफलका क्रममा सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचक भएपछि मुख्य राजनीतिक दलले आज छलफल गरेर सहमतिको पहल गर्ने भएका छन । नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले गठन गरेको समितिले अनौपचारिक छलफल गरेर सहमतिका लागि आधार तयार गरेको छ ।

आज मुख्य राजनीतिक दलबीच छलफल गरेर औपचारिक वार्ताका लागि वातावरण तयार गर्ने विषयमा निर्णय लिने तयारी भएको एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । उहाँले झण्डै डेढ महिना लामो आन्दोलन, त्यसले पुगेको क्षति सम्बोधनका लागि सरल ढंगले सोच्न नहुने बताउनु भयो । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आज बेलुकी काठमाडौं आउने र भोलीदेखि शीर्षनेताहरुलेनै छलफल गर्ने तयारी गरिएको छ ।

स्रोतका अनुसार मोर्चाका नेताहरु लचिलो बनेपनि संविधान संशोधन गरेर माग सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमालेले असहमति जनाएका छन । तर एकीकृत माओवादीले भने संविधान संशोधन गरेरै भएपनि तराई मधेसको असन्तुष्टीलाई सम्बोधन गर्नुपर्ने अडान राखेको छ । यसैबीच वार्ता सहमति नजिक पुगेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको मोर्चासंगपनि एकैसाथ सहमति गर्ने मुख्य तीन दलको योजना छ ।