Thaha

Monday 29 April - 2:15 pm NST

इन्धन अभावका कारण पोल्ट्री क्षेत्र संकटमा

काठमाण्डौ १२ असोज । बन्द र इन्धन अभावका कारण पोल्ट्री क्षेत्र संकटमा परेको छ । बन्द र इन्धन अभावका कारण दाना उत्पादनमा कमी भएकोले कुखुरा पालक कृषकहरू संकटमा पर्दै गएको व्यवसायीहरुले बताएका छन् ।


नेपाल अन्डा उत्पादन संघका अध्यक्ष शिवराम केसीले उत्पादन भएका अन्डालाई बजारसम्म लैजानका लागि संकट परेको बताउनुभयो । उहाले भन्नुभयो ‘पछिल्लो समयमा बन्द र इन्धन अभावका कारण ढुवानीमा समस्या परेका छ । कुखुराजन्य क्षेत्रमा सहजताका लागि सहयोग गरिदिन आग्रह गर्दछौ ।’ 


बजारमा इन्धन अभाव हँुदै गएपछि जिल्लामा तयारी अवस्थामा रहेका अन्डा, चल्ला र कुखुरा ढुवानीमा समस्या पर्दा खोरगोठ नै नास हुने अवस्था आएको बताउँदै नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले अव एक साता यो अवस्था लम्बिने हो भने करोडाँैको क्षति बेहोर्नुपर्ने अवस्था आएको बताउनुभयो । सहज ढुवानी नहुँदा कुखुराले दाना खान नपाएर खोरमै मर्ने अवस्था आउन लागेको उहाले बताउनुभयो ।दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आउने गरेको तर पछिल्लो समयमा आयात बन्द भएका कारण कुखुराको आहारामा संकट देखिएको बरालको भनाई छ  । 

 

चितवनमा कुखुरा व्यवसायसँग सम्बन्धित संघ÷संस्थाले अर्बौंको लगानी भएको पोल्ट्री क्षेत्रको सहजताका लागि सहयोग गर्न विज्ञप्ति जारी गरिरहेका छन् । देशभरमा ५ हजारभन्दा बढी व्यवसायी यसमा आबद्ध रहेका छन् । चितवनमा मात्र ५ सय परिवार कुखुरा पालन व्यावसायमा आबद्ध रहेका छन् । ६५ हजार नागरिकले यसमा रोजगारी पाएको तथ्यांक रहेको छ । देशभरमा पालिएको कुखुरा र त्यसको उत्पादन लगानीका हिसाबले ६० प्रतिशत चितवनले ओगटेको छ ।


नेपालका ७५ ओटा जिल्लामा नै व्यावसायिक रूपमा कुखुरापालन गरिएको व्यवसायीले बताएका छन् । नेपालमा ६० अर्बभन्दा बढी रकम कुखुरा क्षेत्रमा लगानी गरिएको छ । उत्पादनका हिसाबले देशभरमा दैनिक १७ लाख ८० हजार अन्डा उत्पादन हुने गरेको छ ।

 

ब्रोइलर कुखुराको चल्ला हरेक साता १० लाख उत्पादन हुन्छ भने लेयर्स चल्लाको उत्पादन हरेक साता ७५ हजार हुने गरेको तथ्यांकमा उल्लेख छ । ब्रोइलर कुखुरा दिनको ४ लाख किलो मासु उत्पादन हुने गरेको छ । दैनिक रूपमा २१ सय मेट्रिक टन दाना उत्पादन हुने गरेको बरालले जानकारी दिनुभयो ।