Thaha

Sunday 22 September - 2:20 am NST

राष्ट्रिय स्वाधिनताका लागि एमालेले अभियान चलाउने

काठमाण्डौं, ११ असोज । नेकपा एमालेले राष्ट्रिय स्वाधीनताका लागि अभियान संचालन गर्ने भएको छ । काठमाण्डौमा पत्रकारसँग छलफल गर्दै एमाले महासचिव ईश्वर पोखरेलले भोलि राष्ट्रिय कार्यकर्ता भेला गरेर राष्ट्रिय स्वाधीनताका लागि अभियान चलाउने जानकारी दिनुभएको हो ।

भारतीय नाकाबन्दीको विरोध गर्दै महासचिव पोखरेलले सबै राष्ट्रिय शक्ति मिलेर स्वाधीनताका लागि लड्नु पर्ने र नाकाबन्दीको सामना गर्नु पर्नेमा जोड दिनुभयो । भारतले नाकाबन्दी गरेर नेपाली नागरिकको लाईफलाईन बन्द गर्न खोजेको भन्दै पोखरेलले नेपाल कसैसँग नझुक्ने बताउनुभयो ।  ‘संविधान हामीले हाम्रा लागि बनाएका हौं, ।’ पोखरेलले भन्नुभयो–हामीले स्वतन्त्र ढंगले काम गर्दा कसैलाई चित्त बुझ्दैन भने त्यसको हामीलाई मतलव छैन् ।’

नेपालले स्वाधीन र स्वाभिमान पूर्वक बाँच्न चाहेको भन्दै छिमेकीको ज्यादतीको सामना गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । ‘हामी स्वाभिमान पूर्वक बाँच्न चाहान्छौं, हाम्रो स्वाभिमान झुक्न दिँदैनौं ।’ भारतीय नाकाबन्दीप्रति आक्रोश व्यक्त गर्दै पोखरेलले भन्नुभयो– छिमेकीको ज्यादतीका विरुद्ध सबै राष्ट्रिय शक्ति एक भएर लड्नु पर्छ ।’  

यस्तै एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हरेक मुलुकका आफना प्राथमिकता र संवेदनशीलता हुने भन्दै छिमेकीले पनि नेपालको प्राथमिकता र संवेदनशीलता बुझ्न भारतलाई आग्रह गर्नुभयो । मुलुक ठूलो वा सानो जे भएपनि सार्वभौमिकता र भौगोलिक अखण्डता संवेदनशील हुने पनि नेपालले प्रष्ट पार्नुभयो । नेपाल १ सय २५ भन्दा बढी जाति–जनजाति, त्यति नै भाषा, अनेकौं संस्कृति, हिमाल, पहाड र तराई–मधेसको भौगोलिक संयोजन, धार्मिक सहिष्णुता भएको मुलुक भन्दै एमाले नेता नेपालले नेपालको संवेदनशीलतालाई गम्भीरता साथ बुझिदिन सबैसँग आग्रह गर्नुभयो । 


काठमाण्डौमा भएको अर्को कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावलले नेपालमा भारतले अघोषित नाकाबन्दी गरिराखे कुटनीतिक र अन्तर्राष्ट्रिय कानून अनुसार सरकारले विकल्प खोज्ने बताउनुभएको छ ।  तीन दलले सरकारलाई त्यसबारेमा सुझाव दिएको पनि उहाँले जानकारी दिनुभएको छ ।  रावलले नेपाल माथिको भारतीय अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धि सम्झौता र मानवीय दुबै दृष्टिकोणले गलत भएको टिप्पणी गर्नुभयो ।

‘भुपरिवेष्ठित मुलुकलाई समुन्द्रको प्रयोग र पारवहन  दिनु पर्ने अन्तर्राष्ट्रिय सम्झौतामा भारत लगायतका देशले सम्झौता गरेका छन ।’ रावलले भन्नुभयो– विश्व ब्यापार संगठनको सदस्य भएको मुलुकले  पारवहनमा बन्देश लगाउन, सामान रोक्न नपाउने ब्यवस्था छ ।’  

सार्क देशबीच भएको साफ्टा सम्झौतामा पनि परिवहनमा बन्देज नलगाउने ब्यवस्था गरेको उहाँले बताउनुभयो । रावलले समस्या समाधानका लागि तयार रहेकोले विदेशीका नाममा प्रस्ताव ल्याउने र नाकाबन्दी गर्ने काम नागरिकका पक्षमा नहुने भन्दै मधेशवादी दलको आलोचना गर्नुभयो ।