Thaha

Monday 29 April - 4:35 pm NST

नाकाबन्दी जारी रहे अवस्था नाजुक बन्छ : व्यवसायी

काठमाण्डौं, ११ असोज । तत्काल कुटनैतिक पहल गरी भारतले गरेकोे नाकाबन्दी नखोलाए अवस्था नाजुक हुने भन्दै यातायात ब्यवसायी र खुद्रा ब्यापारीहरुले चिन्ता व्यक्त गरेका  छन् ।

मिडिया इन्टरनेश्नलले आज काठमण्डौंमा गरेको कार्यक्रममा राष्ट्रिय यातायात ब्यवसायी महासंघका उपाध्यक्ष केदार पौडेलले अबको एकदुई दिनमा सरकारले समस्या समधान गर्न नसके स्थिती भयावह हुने बताउनुभयो । डिजेल—पेट्रोल वितरणका लागि जोर विजोर प्रणालीले झनै भद्रगोल थपिएको उहाँले बताउनुभयो । दशँै मान्न आउने÷जाने यात्रुका लागि के गर्ने भन्ने कुरा अहिले सोच्न पनि नसकिने उहाँले बताउनुभयो ।

यस्तै ट्याक्सि ब्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले पनि निजी सवारीलाई छोडेर सार्वजनिक सवारीलाई तेल वितरणमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा खुद्रा ब्यापारी संघका अध्यक्ष पवित्र बज्रचार्यले बजार निक्कै असहज भइसकेको बताउनुभयो ।

सरकारले बजारमा रहेका खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अवस्था हेरेर तत्काल कालोबजारी रोक्न तत्काल तिव्र अनुगमन थाल्नुपर्ने व्यवसायीहरुको भनाई छ ।