Thaha

Monday 29 April - 6:16 pm NST

खाना पकाउने एलपी ग्याँस सकियोः ग्याँस संघ

काठमाण्डौं, ११ असोज । एलपी ग्याँस उद्योग संघले भारतीय नाकाबन्दीका कारण नेपालमा खाना पकाउने ग्याँस सकिएको जनाएको छ । संघका अध्यक्ष शिव प्रसाद घिमिरेले नेपालका कुनैपनि ग्याँस उद्योगमा एउटा सिलिण्डर पनि ग्यास नरहेको पत्रकारलाई बताउनुभयो ।

उपभोक्ताका घरमा बाँकी रहेका र केही विक्रेतासंग कत्तै हुन सक्ने बाहेक ग्याँस शुन्य अवस्थामा रहेको घिमिरेले बताउनुभयो । भारतका विभिन्न ४ वटा रिफाइनेरीबाट नेपालका लागि ग्याँस भरेर आएका बुलेट रोकिएको संघले जनाएको छ । भारतीय भूमिमा ३ सय ५० वटा बुलेट लाम लागेर बसेको संघका अध्यक्ष घिमिरे बताउनुभयो ।

अहिले अपभोक्तासामु हात उठाउनुको विकल्प नभएको भन्दै संघले आम नागरिकलाई आफुसँंग भएको ग्याँस कम खपत गर्ने उपाय अपनाउन, सम्भव भए वैकल्पिक उर्जाको प्रयोग गर्न आग्रह गरेको छ ।