Thaha

Sunday 22 September - 1:25 am NST

आज पनि भारत विरुद्ध प्रदर्शन

 आज पनि भारत विरुद्ध प्रदर्शन
काठमाडौं, ११ असोज । विभिन्न संघसंगठनको आव्हानमा आज पनि भारत विरुद्ध प्रदर्शन र भारतीय दूतावास घेराऊ गरिने भएको छ । भारतले नेपालमा अघोषित नाकावन्दी गरेपछि त्यसको बिरोधमा देशका विभिन्न ठाउँमा भारत विरुद्ध प्रदर्शन भएको छ । आज संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावासमा बिरोध प्रदर्शन गर्ने तयारी गरेका छन । त्यसका लागि संयुक्त विदार्थी संगठनले नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत मुख्य विद्यार्थी संघसंगठनका पूर्व अध्यक्ष लगायत नेताहरुसंग छलफल गर्दैछ ।

छलफलपछि आजै दिउँसो दुई बजे अस्कल क्याम्पसमा जम्मा भएर भारतीय दूतावास अगाडी विबरोध प्रदर्शन गर्ने तयारी गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले बताउनु भयो । त्यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजैदेखि भारतीय नम्बर प्लेटका गाडी चलाउने रोक लगाएको जनाएको छ । प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आजैदेखि हिन्दी चलचित्रको प्रदर्शन र भारतीय नम्बर प्लेटका गाडी चल्न नदिने बताउनु भयो ।

यसैबीच, अघोषित नाकाबन्दीको विरोधमा मानवअधिकारकर्मीले काठमाडौमा रहेको भारतीय दूताबास अगाडि धर्ना दिने भएका छन् । मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा कृष्ण पहाडीसहितका अधिकारकर्मीले दिउँसो ४ बजेदेखि एक घण्टा दूताबास अगाडि धर्ना दिने भएका हुन् । शान्ति समाजले नाकाबन्दी मानवताविरुद्धको अपराध भएको भन्दै तत्काल अन्त्य गर्न समेत अनुरोध गरेको छ । नाकाबन्दी निरन्तर जारी रहे त्यसविरुद्ध सत्याग्रह थालिने अधिकारकर्मीले चेतवनी दिएका छन् ।