Thaha

Sunday 22 September - 1:40 am NST

भट्टराईलाई पार्टीमा फर्काउने प्रचण्डको प्रस्ताव

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छोडेका बाबुराम भट्टराईलाई घर फर्काउन केन्द्रीय समितिमा औपचारिक प्रस्ताव अगाडि सार्नुभएको छ । 


केन्द्रीय समिति बैठकमा आप्नो विचार राख्दै प्रचण्डले पार्टी परित्याग गर्ने भट्टराईको कदम आकस्मिक र असाधारण परिघटना भन्दै पार्टीमै फर्काउनुपर्नेमा जोड दिनुभएको हो । ‘कि हामीले बाबुरामजीको बाटोमा जानुपर्छ कि बाबुरामजीलाई फर्काएर अघि बढ्नु पर्छ ।’ बैठकमा भट्टराईप्रति पूर्वाग्रही हुन नहुने भन्दै प्रचण्डले भनेको कुरा उधृत गर्दै स्रोतले भन्यो–आवेगमा आउनु हुँदैन ।’ भट्टराईले नयाँ घर बनाउने सपना देखेपनि संगठन नभई केही नहुने भन्दै पार्टीकै संगठन बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । ‘तपाइँ राम्रो त भन्छन, तर सहयोग गर्दैनन । कोही आउनेवाला छैन ।’ प्रचण्डले भन्नुभयो– पार्टीकै संगठनलाई शक्तिशाली बनाएर मात्र अरुलाई समेटन सकिन्छ । यसो नगरे आफ्नो घर भत्कन्छ । अरु पनि आउँदैनन् ।’अस्ति भट्टराईसँग दुई घण्टा कुरा भएको र अर्को दिन पार्टी परित्यागको घोषणा एकाएक सुन्दा आफूलाई अनौठो मात्रै नलागेको भन्दै प्रचण्डले यो असाधारण र आकस्मिक परिघटना भएको बताउनुभयो । 
हिजोको पत्रकार सम्मेलनमा भट्टराईले राष्ट्रिय स्वाधीनता र भारतीय हस्तक्षेपको कुरा गरेकोले पूर्वाग्रही हुन जरुरी नभएको र भट्टराई पनि सबै कम्यूनिष्ट एक हुनुपर्ने पक्षमा रहेको भन्दै प्रचण्डले केन्द्रीय सदस्यहरुलाई आश्वस्त पार्ने कोशिस गर्नुभयो । 
यसअघि आजै लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले बाबुराम भट्टराईलाई पार्टीमा फर्किन अपील गरेको थियो र त्यसै अनुसार केन्द्रीय समितिमा प्रस्तवा पेश गरिएको हो । एकीकृत माओवादीको स्थायी समितिको बैठकले पार्टी परित्याग गर्ने भट्टराईको कदम गलत ठहर गर्दै पार्टीमा फर्किन भट्टराईलाई अपील गरेको हो । बैठकपछि एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी, देश र आन्दोलनको अहिलेको सन्दर्भमा भट्टराईको कदम गलत भएको निष्कर्ष सहित पूनर्विचार गर्न आग्रह गरिएको बताउनुभयो ।