Thaha

Sunday 22 September - 1:45 am NST

‘नाकाबन्दी’मा भारतको सहयोग : अशोक राई

काठमाडौं, १० असोज । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले आफूहरुले गर्दै आएको आन्दोलनमा भारतले सहयोग पु¥याइरहेको बताउनुभएको छ । 
संघीय प्रेस फोरम इलामले आज बिहान गरेको पत्रकार सम्मेलनमा राईले आफूहरूले सीमानाकामा पलेंटी मारेर नाकाबन्दी गरेको बताउँदै त्यसमा भारतबाट सहयोग भइरहेको बताउनुभएको हो । भारतले पनि केही दिनदेखि सांकेतिक रुपमा नाकाबन्दी गर्दै आएको छ । समाजवादी फोरमका वरिष्ठ नेता समेत रहेका राईले मुख्य तीन दलका नेताले आन्दोलनरत दलका कुरा नसुनेका कारण वार्ताको वातावरण बन्न नसकेको धारणा राख्नुभयो । उहाँले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, मधेस आन्दोलनमा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने र दङ्गाग्रस्त क्षेत्रबाट सेनालाई फिर्ता बोलाउन सम्बोधन गरेमा पूरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । 
अन्तरिम संविधानको मर्म र भावनाविपरित जारी भएको संविधानले निकास दिन नसक्ने उहाँको भनाई छ ।