Thaha

Saturday 21 September - 11:42 pm NST

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्ठराईद्धारा पार्टी परित्यागको घोषणा

काठमाण्डौं, ९ असोज । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्ठराईले पार्टी परित्याग गर्नुभएको छ । अब भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तिन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ ।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो । त्यसयता बेलाबेला अन्तरसंर्घर्ष भएपनि भट्ठराई र अध्यक्ष प्रचण्ड सँगसँगै हुनुहुन्थ्यो ।

आज बानेश्वरस्थित ईन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरी नेता भट्ठराईले एकीकृत नेकपा माओवादीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

मुलुक नयाँ दिशातर्फ अघि बढेको सन्दर्भमा पुराना पार्टीको काम नभएको भन्दै भट्ठराईले नयाँ शक्ति जन्माउने उद्घोष गर्नुभयो । तर तत्काल नयाँ पार्टी खोल्ने—नखोल्ने भन्ने निर्णय गरिनसकेकाले केही समय स्वतन्त्र नागरिकका रुपमा रहने भट्ठराईले बताउनुभयो ।

एमाओवादीमा फर्कने सम्भावना नहरेको संकेत गर्दै भट्ठराईले भन्नुभयो—‘पुरानो, भत्किएको र छोडेको घरमा जाने कुरा हुँदैन ।’ उहाँले व्यवस्थापिका संसदको साँसद पदबाट समेत राजिनामा दिनुभएको जानकारी  दिनुभयो । आफ्नो राजिनामाबारे सभामुखलाई समेत जानकारी गराईसकेको भट्ठराईले बताउनुभयो ।

भट्ठराई संविधानसभामा गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सदस्य हुनुहुन्थ्यो ।