Thaha

Saturday 21 September - 11:37 pm NST

टीकापुर घटनामा सांसद दोषी रहेको संसदीय समितिको ठहर

टीकाराम तामाङ

काठमाडौं, ९ असोज । कैलाली टीकापुरको घटना नियोजित रुपमा भएको संसदीय समितिले ठहर गरेको छ । 
गत भदौ ७ गते ८ प्रहरी र एक बालकको मृत्यु हुने गरी भएको घटनाबारे छानवीन गर्न व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले बनाएको उपसमितिले यस्तो निष्कर्षसहित प्रतिवेदन तयार पारेको हो । उपसमिति सदस्य एवं नेपाली कांग्रेसका सांसद् सञ्जयकुमार गौतमले घटना नियोजित र सांसद्हरुको संलग्नतामै भएको देखिएको रेडियो थाहा सञ्चारलाई जानकारी गराउनुभयो ।
त्यस्तै, आन्दोलनका क्रममा मारिएकाका परिवारलाई ५० लाख रुपैयाँ दिने मधेसी मोर्चाको निर्णयले आन्दोलनलाई थप हिंस्रक बनाउन मद्दत गरेको पनि उपसमितिको निष्कर्ष छ । प्रतिवेदन अब बस्ने राज्य व्यवस्था समितिको बैठकमा पेश गरिने सांसद गौतमले जानकारी दिनुभयो । काम गर्न २१ दिन समय पाएको उपसमितिले ढिला गरी प्रतिवेदन बुझाउन लागेको हो । 
संविधान निर्माण र प्रदेश सीमांकनविरुद्ध थरुहट/थारुवानका नेता, कार्यकर्ता आन्दोलनमा उत्रँदा भदौ ७ गते बरिष्ठ उपरीक्षकसहित ८ जना प्रहरी र एक बालकको मृत्यु भएको थियो । संविधान निर्माण प्रक्रियामा असन्तुष्ट मधेसवादी दलहरु भने अझै आन्दोलनमा छन् ।