Thaha

Saturday 21 September - 11:40 pm NST

महासभामा भाग लिन उपप्रधानमन्त्री सिँह न्युयोर्कमा

महासभामा भाग लिन उपप्रधानमन्त्री सिँह न्युयोर्कमा
काठमाडौं, ८ असोज संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिन गएको उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वको नेपाली टोली आज अमेरिकाको न्युयोर्क पुगेको छ । नेपाली टोलीमा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी हुनुहुन्छ ।

न्युयोर्कमा रहेको जोन अफ केनडी विमानस्थलमा उपप्रधानमन्त्री सिंह र पराराष्ट्रमन्त्री पाण्डेलाई राष्ट्र सङ्घका लागि नेपालका स्थायी नियोगका प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नायब स्थायी प्रतिनिधि सेवा लम्सालसहित नियोगका कर्मचारीले स्वागत गरेका थिए । सिंह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कतारको दोहाबाट आजै न्युयोर्क पुगेको हो । उपप्रधानमन्त्री सिंहले असोज १४ गते महासभालाई सम्बोधन गर्नुहुने छ ।

महासभालाई विभिन्न देशका राष्ट्र एवम् सरकार प्रमुखले सम्बोधन गर्नु कार्यक्रम छ । संविधानसभाबाट पहिलोपटक संविधान जारी गरेको सन्देशसहित भूकम्पपछिको पुनःनिर्माणमा सहयोगको आह्वान, आतङ्कवाद एवम् गरिबी निवारण, जलवायु परिवर्तन जस्ता साझा समस्यालाई पनि नेपालले यसपटकको महासभामा प्राथमिकताका साथ उठाउने तयारी छ ।