Thaha

Saturday 21 September - 11:41 pm NST

घरको समस्या घरभित्रै मिलाऔं, छिमेकी तान्ने र तानिने परिस्थिती राम्रो होईन—भट्ठराई

काठमाण्डौं, ७ असोज । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्ठराईले नेपालको समस्या नेपाली—नेपाली मिलेरै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै नेता भट्ठराईले बल प्रयोग र दमनबाट राजनीतिक समस्याको समाधान नहुने भएकाले सरकार र मुख्य दलले तराईको समस्या समाधानका लागि सार्थक वार्ताको वातावरण बनाउनुपर्ने बताउनुभयो ।  आफ्नो पार्टीसँग मिल्दाजुल्दा आन्दोलनकारीका मागहरुप्रति आफ्नो समर्थन रहेको भन्दै नेता भट्ठराईले नयाँ संविधान जारी भएपछि तराई—मधेस मा जारी आन्दोलन साम्य हुनुको सट्ठा झन गम्भिर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो घरको समस्या समाधान गर्न नसकेर छिमेकी तान्ने वा तानिने परिस्थ्तिि निर्माण गर्नु बुद्धीमानी र शोभनीय नुने उहाँको भनाई छ । उहाँले भारतप्रति संकेत गर्दै छिमेकीले अर्काको घर—झगडामा अनावश्यक ढंगले हात हाल्नु उपयुक्त नहुने बताउनुभयो ।  

यसैवीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेता भट्टराईलाई जनकपुर प्रवेशमा रोक लगाउने बताएको छ । तराईमा भइरहेको आन्दोलनका बारेमा बुझ्न भट्टराई भोली आफू निकटका केही मधेसी नेता सहित धनुषाको जनकपुर जाने कार्यक्रम छ ।

मोर्चाका प्रवक्ता संजय कुमार सिंहका अनुसार संविधानमा भट्टराईले सही गरेका कारण उहाँ पनि दोषी भएकाले मोर्चाले विरोध गर्ने भएको हो । पार्टी छोडेर आए मात्रै जनकपुरमा उहाँलाई मोर्चाले स्वागत गर्ने प्रवक्ता सिंहले बताउनुभयो ।