Thaha

Saturday 21 September - 11:07 pm NST

नेपाल भारत सिमा नाका तनाब, दशगजा क्षेत्रमा झडप


सुनील गाउँले
बारा सिमरा, ७ असोज
नेपाल भारत सिमाको दशगजा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारी र प्रहरी विच आज रक्सौल नाकामा झडप भएको छ । विहान १० बजेबाट नेपाल भारत सिमाको दशगजा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउन गएका प्रहरी र प्रदर्शनकारी विच दिउसो २ बजेपछि झडप भएको हो । नेपाल भारत सिमाको मितेरी पुलमा धर्नामा बसेका प्रदर्शनकारीले मुख्य सडकमा टेण्ट लगाउन खोजेपछि प्रहरी र प्रदर्शनकारी विच झडप भएको हो । 


झडपका क्रममा प्रहरीले केहि राउण्ड अश्रुग्याँस प्रहार गरेको  छ । प्रदर्शनकारीले प्रहरीमाथी ढुंगा हानेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनु भयो । प्रदर्शनकारीले भने प्रहरीले नेपाल भारत सिमामा हवाई फायर गरेको दाबी गरेका छन् । 


झडपका कारण नेपाल भारत सिमा क्षेत्र दिउसोदेखि साँझ सम्मनै तनाबग्रस्त बनेको छ । प्रहरीले बल प्रयोग गरेपछि भारत तर्फ भागेका प्रदर्शनकारी भारत तर्फको पुल क्षेत्रमा र प्रहरी नेपाल तर्फको पुल क्षेत्रमा छन् । मितेरी पुल पारी भारतीय भन्सार क्षेत्रमा पनि भारतिय सिमा सुरक्षा बल एस.एस.वीलाई ठुलो संख्यामा तैनाथ भएका छन् ।