Thaha

Monday 29 April - 5:18 pm NST

तेल पर्याप्त छ, लाइन बस्नु पर्दैनः निगम


काठमाडौं, ६ असोज । भारतले सीमा क्षेत्रमा पेट्रोलियम ट्याङ्कर रोकेको समाचार आएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । केही पेट्रोल पम्पहरु बन्द छन् भने खुलेकामा पनि विहानैदेखि सवारी साधनको लामो लाइन लागेको छ ।  

नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको दाबी गरेको छ । निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काका अनुसार आयात नभएपनि काठमाडौं उपत्यकामा आगामी १० दिनसम्म पुग्ने डिजेल, पेट्रोल र ग्याँस निगमसँग मौज्दात रहेको छ ।

त्यसमाथि पनि दैनिक मागअनुसार आयात भइरहेकाले हल्लाको पछि नलाग्न उहाँले उपभोक्तालाई आग्रह गर्नुभयो । रक्सौल नाकामा केही समस्या देखिएपनि भैरवहा नाकाबाट नियमित भन्दा बढी नै पेट्रोलियम पदार्थ आइरहेको खड्काको भनाई छ ।

उपत्यकामा दैनिक ३ सय किलोलिटर पेट्रोल र साढे ३ सय किलोलिटर डिजेल खपत हुने गरेको छ । थानकोट डिपोबाट सोही परिमाणमा पेट्रोल र डिजेल वितरण गरिरहेकाले पेट्रोल पम्पहरुमा भीड गर्नु आवश्यक नरहेको उहाँले बताउनुभयो ।

पेट्रोल पम्पहरुले आयल निगमबाट खरिद गरे अनुसार वितरण गरे नगरेको बारेमा पनि आज अनुगमन गरिने खड्काले जानकारी दिनुभयो ।