Thaha

Monday 29 April - 6:40 pm NST

इन्धन छोड्न भारतको आनाकानी

काठमाण्डौं, ५ असोज । भारतले ईन्धन बोकेका नेपाली ट्याङ्कर छोड्न आलटाल गरेको छ । दिउँसो आयल निगमका अधिकारी गएर कागजात बुझाएपछि भारतको रक्सौल भन्सार सकारात्मक भएपनि फेरी अलमल गरेको छ ।

नेपाल आयल निगमले अब कर्मचारीको तहबाट मात्रै समस्या समाधान हन नसक्ने निष्कर्ष निकालेको छ । स्रोतले भन्यो,‘ सायद अब हाम्रो तहबाट मात्रै विषय टुंगिदैन होला ।’ यसअघि इन्धन भरेका टयाङकरबारे जानकारी गराउने र टोकनमा आधारमा कागजी प्रकृया अगाडी बढ्ने गरेपनि भारतीय भन्सार कार्यालयले मानेको छैन । आयल निगमका प्रवक्ता दिपकलले सबै कागजात बुझाईसकेपनि भन्सारले टयाङकर छोड्न नमानेको बताउनुभयो ।

यसअघि सहजै छोड्ने गरेकोमा अहिले कागजी प्रकृया नपुगेको भन्दै अलमलाएको जानकारी दिनुभयो । दिउँसो इन्धन भरेका २३ वटा ट्याक्टर नेपाल प्रवेश गर्न दिने सहमति भएको थियो । तर रक्सौलबाट तेल भरेर भन्सार आईपुगेका तेल ट्याङ्करहरुलाई छुटाउन अवरोध गरेको नेपाल आयल निगमले जनाएको छ ।

भन्सारले सुरक्षाको कारण देखाएपनि नेपाल आयल निगमका अधिकारीले नेपालभित्रको सुरक्षाको चिन्ता नगर्न आग्रह गरेका थिए । 

सुनौली नाकाबाट भने ईन्धन र खाद्यान्न भित्रिरहेको छ । आज मात्रै २३ वटा पेट्रोल र डिजेलका ट्याङकर, ६ वटा ग्याँस वुलेट र ३ सय ट्रक खाद्यान्न भित्रिएका छन् । भन्सार एजेन्स संघका अध्यक्ष शान्त कुमार शर्माले सुनौलि नाकाबाट सामान भित्रिरहेको जानकारी दिनुभयो ।