Thaha

Saturday 21 September - 10:54 pm NST

ठोस आधार लिएर वार्तामा आउन प्रधानमन्त्रीलाई गच्छदारको आग्रह


काठमाण्डौं, ५ असोज । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रदेशको सिमाङकनका विषयमा सहमति भए आफूहरु वार्तामा आउन तयार रहेको बताउनुभएको  छ । सिमांङकनको समस्या समाधान गरेमा थारुहरु र मधेसीको माग सम्बोधन हुने गच्छदारको भनाई छ ।

प्रमुख तीन दलका नेतासँग सकारात्मक छलफल भएको भन्दै गच्छदारले अर्को वार्तामा सहमतीको ठोस आधार लिएर आउन आग्रह गरेको बताउनुभयो । उहाँले  तराईमा जारी धरपकड बन्द गर्नु पर्ने, कफ्र्यु  र संकटग्रस्त क्षेत्र पनि फिर्ता लिन शीर्ष नेतालाई आग्रह गरेको बताउनुभयो  ।  

यसअघि बिहान प्रधानमन्त्री शुसील कोईरालाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर वार्तामा आउन आह्वान गर्नुभएको थियो । तमलोपा अध्यक्ष ठाकुरले भने भेटमा प्रधानमन्त्रीले आफूसँग वार्ता र सम्वाद भन्दा बढि भावनात्मक कुरा गरेको बताउनुभएको छ । आज दिउँसो विराटनगर पुग्नुभएका ठाकुरले प्रधानमन्त्रीसँगको भेटबारे पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफूसँग आफ्नै पार्टी र सरकारका विषयमा गुनासो गरेको बताउनुभयो ।

उहाँका अनुसार बिहान भएको वार्ताको विषयमा तराई समस्या समाधानका लागि कुनै ठोस कुराकानी भएन । ठाकुरले सीमाङकन, समानुपातिक, समावेशी, नागरिकता लगायतमा विषयमा ठोस कुरा नआएसम्म तत्काल वार्ताको सम्भावना नदेखिएको बताउनुभयो ।