Thaha

Saturday 21 September - 9:13 pm NST

असन्तुक्ष पक्षका माग सम्बोधन गर्ने शिर्ष नेताको प्रतिबद्धता


काठमाण्डौं, ४ असोज । प्रमुख तीन  दलका शीर्र्ष नेताले असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै वार्तामा आउन असन्तुष्ट पक्षलाई आह्वान गरेका छन् ।

नयाँ संविधान जारी भएको खुसियालीमा सैनिक मञ्च टुँडिखेलमा सरकारले गरेको विशेष समारोहमा बोल्दै प्रमुख दलका नेताले संविधान जारी भएपनि संशोधन गरेर माग सम्बोधन गर्न सकिने बताए । धेरै कुरा सम्बोधन भइसकेको र चित्त नबुझेका बाँकी माग सम्बोधनका लागि पनि तयार रहेकाको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने पर्याप्त सम्भावना बाँकी रहेको भन्दै वार्तामा आउन आह्वान   गर्नुभयो ।  अव आर्थिक विकासका साथै, जातीय सदभाव, आपसी सौहार्दता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि  जिम्मेवारीताका साथ अग्रसर हुन सबैलाई प्रधानमन्त्रीले अपील गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान आएको खुशी सबैले मनाउनु पर्ने बताउनुभयो । संविधान परिवर्तन गर्न सकिने भन्दै ओलीले नआत्तिन र वार्तामा आउन असन्तुष्ट पक्षलाई आह्वान गर्नुभयो ।

यस्तै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पहिचान, समानुपातिक र समावेशीको मुद्दा, सम्बोधन भएको र सीमाङ्कनको विषय बार्ताबाट सम्बोधन गर्न सकिने बताउनुभयो । उहाँले पनि असन्तुष्ट पक्षलाई तत्काल शान्तिपूर्ण वार्ताको टेवलमा आउन अपिल गर्नुभयो । संविधानसभाबाट संविधान जारी भएसँगै मुलुक नयाँ गुगमा प्रवेश गरेको प्रचण्डले बताउनुभयो । तर संविधानसभाबाट नयाँ संविधान र गणतन्त्र मन नपराउनेहरुका कारण संविधानको कार्यान्वयन चुनौतीपूर्ण भन्दै प्रचण्डले प्रमुख दलबीच दृढ संकल्प र एकता कायम रहे हरेक चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।

सम्बोधन मार्फत नेपाली काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुले आगामी दिनमा पनि सहकार्यलाई बलियो बनाउने संकेत गरेका छन् ।