Thaha

Saturday 21 September - 9:09 pm NST

प्रचण्डले भने– भारतले नेपालको स्वतन्त्रताको सम्मान गर्नुपर्छ, हामी एस म्यान होईनौं

काठमाण्डौ, ४ असोज । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको स्वतन्त्रताको सम्मान गर्न भारतलाई आग्रह गर्नुभएको छ ।

नयाँ संविधानको स्वागतमा सरकारले सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भारतले नेपालको स्वतन्त्रता, भावना,आवश्यकता र चाहनाको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेले मात्र आफ्नो स्वतन्त्रतालाई सुदुढ गर्न सक्छ ’ प्रचण्डले भारतलाई चेतावनीको शैलीमा भन्नुभयो– ‘अरु कसैको स्वतन्त्रतालाई हामीले सम्मान गर्न सकेनौं भने हामी आफैं स्वतन्त्र हुन सक्दैनौं भन्ने विश्व इतिहासले देखाएको मान्यता हो ।’

नेपालको छिमेकीहरुसँग विशेष सम्बन्धसँगै विशेष समस्या पनि रहेको भन्दै प्रचण्डले एकअर्काको भावना, आवश्यकता र चाहनालाई ठीक ढंगले बुझ्ने र सम्बोधन गरे मात्रै सम्बन्ध राम्रो हुने बताउनुभयो । ‘म भारतीय नेताहरुसँग के भन्न चाहन्छु भने हामी असल मित्रका रुपमा तपाईंहरुका जायज चासो  र चिन्तालाई सहयोग गर्न तयार छौं’, प्रचण्डले भन्नुभयो– ‘हामी चाहन्छौं भारत सरकार र भारतीय भारतीय जनताले पनि नेपालको जायज चासो, चिन्ता र आवश्यकतालाई त्यसरी नै सहयोग गर्नेछन् । हामी मित्र हुन चाहन्छौं,जे भन्यो त्यही मान्ने एसम्यान नेपाली कहिल्यै भएनन्, कहिल्यै हुने छैनन् । ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि मुलुकको सार्वभौमिकता र स्वाधीनता कायम राखेर मात्रै छिमेकीसँग सम्बन्ध राख्ने स्पष्ट पार्दै त्यो कुरा बुझ्न छिमेकी मित्र राष्ट्रहरुलाई आग्रह गर्नुभयो । छिमेकी राष्ट्रका विरुद्धका नेपालले सोच्नै नसकिने भन्दै ओलीले नेपाललाई विकासमा अघि बढाउन नेपालका प्राकृतिक स्रोत साधनको पनि संयुक्त रुपमा प्रयोग गर्न सकिने ओलीले बताउनुभयो ।