Thaha

Saturday 21 September - 8:18 pm NST

नयाँ संविधान घोषणा हुदै, संविधान सार्वजनिक गर्ने विशेष समारोहका लागि संविधानसभा भवनमा भव्य तयारी


काठमण्डौं, ३ असोज ।
नेपालको संविधान आज सार्वजनिक हुँदैछ । राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानसभा भवन नयाँ बानेश्वरमा नेपालको संविधान सार्वजनिक गरेपछि अन्तरिम संविधान २०६३ को खारेज हुनेछ र नयाँ संविधान लागु हुनेछ । संविधानसभा पनि व्यवस्थापिका संसदमा परिणत हुनेछ । झण्डै ८ वर्ष लगाएर जनप्रतिनिधि मार्फत संविधान बनाउने काम सम्पन्न भएको छ । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० मंसीरमा दोस्रो संविधानसभा चुनाव भएको थियो । 

बेलुकी पाँच बजे राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति यादवले संविधानमा हस्ताक्षर गर्ने र सार्वजनिक गर्ने गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्धारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२  असोज ३ मा प्रारम्भ भएको नेपाली जनता समक्ष घोषण गर्दछु भन्ने व्यवहोरामा हस्ताक्षर गर्ने र छाप लागेपछि संविधान निर्माण तथा जारी प्रकृया औपचारिक रुपमै पुरा हुनेछ । ३५ भाग र ३ सय ८ धारा रहेको संविधानलाई शुक्रवारनै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणीकरण गर्नु भएको थियो । 

संविधानजारी गर्नका लागि बेलुकी पाँच बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । त्यही बैठकलाई विशेष समारोहमा परिणत गरेर विधिवत रुपमा नयाँ संविधान सार्वजनिक गर्ने कार्यक्रम तय भएको संविधानसभा सचिवालयले जनाएको छ । राष्ट्रपतिले हस्ताक्षर गरेर सार्वजनिक गरे लगत्तै अन्तरिम संविधान खारेज हुने र नयाँ संविधान लागु हुने संवैधानिक व्यवस्था रहेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताउनु भयो । सरकारले संविधान घोषणाको अवसरमा आज र भोली सार्वजनिक विदा समेत दिएको छ । आज र भोली देशैभर दिपावली गर्न पनि सरकारले नागरिकलाई आग्रह गरेको छ । यसैबिच विशेष समारोहका लागि काठमाडांैको नयाँ बानेश्वरमा रहेको संविधानसभा भवन दुलही जस्तै सिंगारिएको छ । ध्वजा पतका र फुलका गमलाले सजाइएको छ भने संविधानसभा भवन आसपास नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । समारोहलाई भव्य बनाउन सचिवालयले संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारेको छ । विभिन्न रङका बत्तीले पनि सजाइएको छ ।