Thaha

Saturday 21 September - 8:41 pm NST

संविधान घोषणाका लागि सुरक्षा व्यवस्था कडा

काठमाण्डौं, २ असोज । नयाँ संविधान घोषणालाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

सरकारले देशैभर खानतलासी, जाँच र गस्ती बढाएको भन्दै उहाँले शान्ति सुरक्षामा खलल पु¥याउने, ताडफोड र आगजनी गर्नेहरुलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको बताउनुभयो । भोली नेपालको नयाँ संविधान २०७२ घोषणा गरिदैछ ।

संविधान घोषणाको दिन देशभर गरिने दीपावलीमा कार्यक्रमका लागि पनि सुरक्षा प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । संविधान जारी हुने स्थान संविधानसभा भवन नयाँ बानेश्वरमा भोलिका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काले संविधानसभाभित्र विशिष्ट व्यक्तिको सुरक्षालाई मध्यनजर गर्दै छुट्टै विशेष अनुमतिपत्रको व्यवस्था मिलाइएको  बताउनुभयो ।