Thaha

Saturday 21 September - 8:16 pm NST

संविधानजारी गर्ने भव्य तयारी, बेलुकीसम्म सजावटको काम सकिने

काठमाडौं, २ असोज । नयाँ संविधान सार्वजनिक गर्ने विशेष समारोहका लागि संविधानसभा सचिवालयले तयारी थालेको छ । भोली संविधानसभा भवन नयाँ बानेश्वरमा हुने विशेष समारोहका लागि सजावटको काम भैरहेको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले बताउनु भयो । आज बेलुकीसम्ममा सजावट लगायतका तयारी सकिनेछ । नेपालको संविधान २०७२ लाई ५ सय ३७ सभासद्को हस्ताक्षरपछि हिजो संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले प्रमाणित गर्नु भएको थियो । संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणित भएपछि हिजोनै  विधेयकले संविधानको रुप धारण गरेको हो  । 
संविधानको प्रतिलाई भोली पाँच बजे आयोजना हुने औपचारिक राष्ट्रिय समारोह एवम् विशेष बैठकमा राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष सभाध्यक्षले पेश गर्नुहुनेछ । समारोहमा राष्ट्रपति यादवले संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नुहुनेछ ।    घोषणा भएको संविधानको एकप्रति संविधानसभा सचिवालयको अभिलेखमा राखिने छ भने अरु एकएकप्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ । औपचारिक समारोह पछि संविधानसभा भवन नयाँ बानेश्वर परिषरमा रात्री भोजको आयोजना गरिएको छ । रात्री भोजमा, राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, विपक्षदलका नेता, सरकारका मन्त्री, राजनीतिक दलका नेता, सभासद्, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख लगायत सहभागि हुनेछन । 
संविधान घोषणा भएलगत्तै अन्तरिम संविधान, २०६३ को खारेजी र संविधानसभा स्वतः व्यवस्थापिका–संसद्मा रुपान्तरण हुने छ । नयाँ संविधानमा ३ सय ८ धारा, ३५ भाग र नौ अनुसुची  छन ।  यसैबीच दिउँसो तीनबजे बस्ने व्यवस्थापिका संसदको बैठकमा भूकम्पपछिको पुर्ननिर्माण गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ ।