Thaha

Saturday 21 September - 7:57 pm NST

२६ वटा नयाँ नगरपालिका, एउटा उपमहानगरपालिका थप

काठमाण्डौं, १ असोज । सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थप्ने निर्णय गरेको छ ।  

आज बसेको मन्त्रीपरिषद् बैठकले लम्जुङ र कैलालीमा  एकै पटक तीन—तीनवटा नगरपालिकासहित २६ वटा नगरपालिका बनाउने निर्णय गर्दै कैलालीको उर्मा र फूलबारी गाविसलाई थपेर धनगढी नगरपालिकालाई उपमहानगरपलिका बनाएको  छ । स्थानीय विकास मन्त्रालयले सिफारिस गरेका २८ मध्य तनहुँको भिमाद र स्याङ्जाको गल्याङलालाई थप अध्ययन गरेर निर्णय गर्ने सरकारको भनाई छ ।

लमजुङमा राईनास, करापुटार र मध्य नेपाल नगरपालिका बनाइएको छ । कञ्चनपुरमा बेलडाँडी नगरपालिका, बेदकोट र कृष्ण्पुर नगरपालिका थपिएका छन् । थपिएका नयाँ नगरपालिकामा झापाको गौरादह, तेह्रथुमको बसन्तपुरमा लालीगुराँस, सप्तरीको हनुमाननगरमा हनुमाननगर योगिनीमाई, सिरहाको सुखीपुरमा सुखीपुर र सिरहाकै धनगढी छन् ।

त्यस्तै ललितपुरको चापागाउँ र बज्रबाराही मिलाएर बज्रबाराही नगरपालिका, चितवनको जुटपानीलाई कालिका नगरपालिका, चितवनकै हर्दी भण्डारालाई राप्ती नगरपालिका, सर्लाहीमा बरहथवालाई बरहथवा नगरपालिका र तनहुँमा भानु गाविसलाई भानु नगरपालिका बनाउने सरकारले निर्णय गरेको छ । तनहुँको आँबुखैरी, नवलपरासीमा मध्यविन्दु नगरपालिका, कपिलबस्तुमा भृकुटी नगरपालिका र स्याङ्जामा भीरकोटपनि नयाँ नगरपालिकाका रुपमा थपिएका छन् ।

जाजरकोटमा भेरीमालिका नगरपालिका, रुकुममा चौरजहारी नगरपालिका, सल्यानमा बाघचौर नगरपालिका, सुर्खेतमा शुभघाट गंगामाला नगरपालिका र अछाममा कमला बजार नगरपालिका, बर्दियामा सैनावर नगरपालिका थपिएको छ । अब देशभर नगरपालिका २ सय १६ र उपमहानगरपालिकाको संख्या १२ पुगेको छ ।