Thaha

Saturday 21 September - 7:37 pm NST

संविधान विधेयकमा आज सभासदले हस्ताक्षर गर्ने

काठमाडौं, १ असोज । संविधानसभाबाट पारित संविधानको परिमार्जित धाराहरु समेटिएको एकीकृत रुप अर्थात संविधान विधेयकमा आज सभासद्ले हस्ताक्षर गर्ने भएका छन् ।

नेपाली कागजमा मुद्रण भएका पाँच प्रति संविधान विधेयकलाई सभासद्ले अहिले ९ बजेदेखि दिउँसो ३ बजेसम्म हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

हिजो भाषिक शुद्धाशुदी एवम् संशोधन प्रस्तावबाट पारित भएका विभिन्न आयोगसम्बन्धी धाराको क्रमागत मिलाउने काम गरिएको थियो । सभासद्को हस्ताक्षर सकिएलगत्तै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले त्यसलाई प्रमाणित गर्नुृहुनेछ । संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणित भएपछि त्यस्तो विधेयकले संविधानको रुप धारण गर्नेछ ।

संविधानको प्रतिलाई पर्सि असोज ३ गते पाँच बजे आयोजना हुने औपचारिक राष्ट्रिय समारोह एवम् विशेष बैठकमा राष्ट्रपति समक्ष सभाध्यक्षले पेश गर्नुहुनेछ । समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादवले उक्त संविधानको प्रतिमा हस्ताक्षर गरी नेपाली जनता समक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्नुहुनेछ । 

  घोषणा भएको संविधानको एकप्रति संविधानसभा सचिवालयको अभिलेखमा राखिने छ भने अरु एकएकप्रति राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ ।

संविधान घोषणा भएलगत्तै अन्तरिम संविधान, २०६३ को खारेजी र संविधानसभा स्वतः व्यवस्थापिका–संसद्मा रुपान्तरण हुने संविधानसभा सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले बताउनुभयो । नयाँ संविधानमा ३ सय ८ धारा, ३५ भाग र नौ अनुसुची रहने छन् ।

यसैबीच आजनै संविधानसभामा सभासद्ले सामूहिक तस्वीर खिचाउने कार्यक्रम राखिएको संविधानसभा सचिवालयले जनाएको छ ।