Thaha

Saturday 21 September - 7:34 pm NST

रातभरको वार्तापछि गच्छेदार र तीन दलबीच सहमति, सहमतिपत्रमा हस्ताक्षर गर्न बाँकी


काठमाडौं, १ असोज । मुख्य तीन दल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच गएराती अनौपचारिक सहमति भएको छ । तर दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गर्न भने बाँकीनै छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएराती दुईबजेसम्म नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच छलफल भएको हो ।

स्रोतका अनुसार रातीनै सहमतिको ड्राफ तयार भएपनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एक पटक पार्टीमा छलफल गर्ने भन्दै सहमति पत्रमा आज हस्ताक्षर गर्ने बताउनु भएको थियो । रातीनै गच्छदारले आज बिहान ११ बजे पार्टीको राजनीतिक समितिको बैठक बोलाउनु भएको छ ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले राती सकरात्मक कुराकानी भएकाले बिहान बस्ने राजनीतिक समितिको बैठकले संविधानजारी प्रकृयामा जाने या नजाने भन्ने विषयमा निर्णय गर्ने थाहासंचार नेटवर्कलाई जानकारी दिनुभयो ।

समानुपातिक समावेशितालगायत माग सम्बोधन गर्ने, सीमाङ्कनका विषयमा देखिएको मुख्य विवादलाई सङ्घीय आयोगमार्फत टुङ्ग्याउने, हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने तथा जनसङ्ख्याका आधारमा बाँकी निर्वाचन क्षेत्र राख्ने लगायतका विषयमा दलहरुबीच सहमति भएको स्रोतको भनाई छ ।