Thaha

Saturday 21 September - 8:04 pm NST

संविधानका पारित धाराका आनुसांगिक मिलाइने

काठमाडौं, ३१ भदौ । आज संविधानका पारित धारामा आनुसांगिक मिलाईने भएको छ । गएराती संविधानसभाबाट संविधान पारित भएपछि आज आनुसांगिक मिलाउने र पाँच प्रति संविधान छापिने भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई नेतृत्वको पाँच सदस्यीय समितिको सिफारिसका आधारमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आनुसांगिक मिलाउनु हुने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अग्निप्रसाद खरेल, एकीकृत माओवादीका गिरिराजमणी पोख्रेल, र राप्रपा नेपालकी कुन्ती शाही सदस्य हुनुहुन्छ ।

आनुसांगिक मिलाउनका लागि बिहान ११ बजेसम्म सबै सभासद्ले समितिलाई लिखित रुपमा सुझाब दिनेछन । समितिले दिउँसा तीनबजेसम्म आनुसांगिक मिलाउनु पर्ने विषय छुट्टाएर संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गलाई बुझाउने छ । आजै संविधानसभा अध्यक्ष नेम्वाङ्गले आनुसांगिक मिलाएपछि सभासद्को हस्ताक्षरका लागि पाँच प्रति छापिने सहायक प्रवक्ता कुईकेलले बताउनु भयो ।

छापिएको संविधानका प्रतिहरुमा भोली सबै सभासद्ले हस्ताक्षर गर्ने र संविधानसभा अध्यक्षले पर्सिसम्ममा  प्रमाणीकराण् गर्ने कार्यक्रम तय भएको छ । संविधानसभा अध्यक्ष नेम्वाङले प्रमाणित गरेको संविधान आउँदो आईतवार विशेष समारोहमा राष्टपति डाक्टर रामवरण यादवले नेपालको संविधान २०७२ सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । यसैबीच भोलीनै संविधानसभामा सभासद्ले सामुहिक तस्वीर खिचाउने कार्यक्रम राखिएको संविधानसभा सचिवालयले जनाएको छ ।

हिजो संविधानसभाबाट नेपालको संविधान २०७२ पारित भएको थियो । संविधान पारित गर्ने पक्षमा ५ सय ७ , विपक्षमा २५ र ५७ सभासद्ले प्रकृया बहिष्कार गरेका थिए ।