Thaha

Saturday 21 September - 7:39 pm NST

पासवानको अनशन तोडियो


काठमाडौं, ३० भदौ । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बसेका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानले अनशन तोड्नुभएको छ । गएराति अबरे सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले पासवानलाई फलफूलको रस खुवाएर अनशन तोडाउनुभएको हो ।

सरकारका तर्फबाट कानुन मन्त्री नरहरि आचार्य र सभासद् पासवानबीच चारबुँदे सम्झौता भएपछि पासवान अनसन तोड्न सहमत हुनुभएको हो  । राज्यका सबै संरचनामा दलित, पिछडा वर्ग, मधेसी, मुसलमान र अपाङ्गता भएका व्यक्ति तथा जनजातिको समानुपातिक र समावेशिताका आधारमा आरक्षण व्यवस्था गरिने, गरिब, किसान, मजदुर आदिको सामाजिक सुरक्षा अन्तर्गत स्वास्थ्य, शिक्षा, खाद्यान्न, रोजगारीको सुनिश्चितताको लागि कार्यदल गठन गरिने, महिलालाई छुट्याइएको ३३ प्रतिशत आरक्षणमा सबै जातिका महिलाका लागि समानुपातिक सिद्धान्तका आधारमा आरक्षण गरिनेलगायत विषय सम्झौतामा उल्लेख छ । पासवान नयाँ संविधानसभा भवन नजिकै अनशन बस्दै आउनुभएको थियो ।