Thaha

Saturday 21 September - 7:44 pm NST

असोज ३ गते विप्लव माओवादीको नेपाल बन्द, शान्ति सम्झौता भंग भएको घोषणा

 काठमाडौँ, २९ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शान्ति सम्झौता देखि सबै ससहमति सम्झौता भंग भएको घोषणा गर्दै संविधान जारी हुने दिन असोज ३ गते नेपाल  बन्दको आह्वान गरेको छ ।

नयाँ संविधानबारे आफ्नो धारणा सार्वजनिक गर्दै विप्लव माओवादीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव माओवादीले माओवादी र संसदवाद्यी दलबीच भएको शान्ति सम्झौता भंग भएको घोषणा गरेको छ ।

तर प्रवक्ता पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा भंग शब्द प्रयोग नगरी शान्ति सम्झौता निस्तेज भएको उल्लेख  गरिएको छ । ‘संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले  निस्तेज पारेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

संविधान सभाबाट जारी गर्ने भनिएको संविधान जनताको चाहना विपरित रहेको विज्ञप्तिमा उल्लेख छ । 
 
‘ तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको ठिक विपरित छ’ पार्टी प्रबक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निकालेको विज्ञप्तिमा भनिएको छ ।
नयाँ संविधान मार्फत प्रतिक्रान्ति, प्रतिगमन र निरंकुश फाँसिवाद लाद्न खोजिएको उसको दावी छ ।  

विज्ञप्तिको पूर्णपाठः 

प्रेश विज्ञप्ति

तीन दल र सरकार को तर्फबाट असोज ३ गते जारी गर्ने भनिएको संविधान प्रति पार्टीको दृष्टिकोण र कार्यक्रम सार्वजनिक गर्न यो प्रेश विज्ञप्ति जारी गरिएका छ ।

१)    कथित तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले सामन्यतः ००७ साल यता गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान नेपाली जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जन आन्दोलनका राजनैतिक एजेण्डा, त्यसका निम्ति हजारौं शहिदहरुले बगाएको रगत, वेपत्ता तथा घाईते योद्धाहरुको बलिदान, लाखौ परिवर्तनकामी नेपाली जनताको लगानी र चाहानको  ठिक विपरित छ ।  
२)     नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले  निस्तेज पारेको छ ।

३)     देशमा राष्ट्रघात, दलाल तत्वहरुको संविधान, प्रतिक्रान्ति, प्रतिगमन र मुठ्ठीभर दलालहरुको निरंकुश फाँसिवाद नेपाली जनता माथि लादिने भएको छ । 
४)     यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न उल्लेख्य सहभागीताका लागि राष्ट्रिय स्वाधिनता र जनताको गणतन्त्रका पक्षधर आम  नेपाली जनसमुदायमा हाम्रो पार्टी हार्दिक आहृवान गर्दछ । 
धन्यवाद । 

........
प्रकाण्ड
प्रवक्ता
२९ भाद्र ०७२