Thaha

Saturday 21 September - 8:06 pm NST

१०० वटा धारा पारित

काठमाण्डौं, २९ भदौ । संविधानसभामा अहिलेसम्म १०० वटा धारा पारित भएका छन् ।  १ सय वटा धारा पारित गरिसकेको संविधानसभाको बैठक साढे २ बजेसम्मका लागि स्थगित भएको छ । संविधानसभाको बैठकमा नेपालको संविधानको परिमार्जित विद्येयक २०७२ को धारामाथि मतदान प्रकृया चलिरहेको छ ।

विद्येयकको धारा ६१ मा रहेको राष्ट्रपतिको सट्टा राजा राख्नुपर्ने माग अस्विकृत भएको छ । धारा ६१ मा राष्ट्रपतिको सट्टा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजसंस्था रहनुपर्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । राजसंस्थाको पक्षमा २५ जना सदस्यमात्र उभिएका थिए ।

अब ४५ बर्ष उमेर पुगेका व्यक्ति नेपालको राष्ट्रपति बन्न पाउने भएको छ । संविधानको परिमार्जित धारा ६४ मा राष्ट्रपतिको योग्यतामा कम्तिमा ४५ वर्य पुरा भएको व्यक्ति राष्ट्रिपतिका लागि योग्य हुने आजको संविधानसभा बैठकले पारित गरेको छ ।

यस्तैगरी नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुने भएको छ । संविधानको परिमाजित विधेयकको भाग ७ को धारा ७४ मा परेका अरु सबै संशोधन प्रस्ताव संविधानसभाबाट बहुमतले अस्विकृत भएको छ ।

मन्त्रिपरिषदको गठनको व्यवस्थाका लागि धारा ७६ मा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालेको संशोधन पनि बहुमतले अस्वीकृत भएको छ ।

यस्तैगरी धारा ७८ मा प्रधानमन्त्री र मन्त्री हुन न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने संशोधन प्रस्ताव फिर्ता भएको छ । अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएपछि प्रधानमन्त्री र मन्त्रीको योग्यताको प्रस्ताव मस्यौदाबाट हटेको छ ।