Thaha

Saturday 21 September - 6:24 pm NST

संविधानका धारा पारित हुने क्रम जारी

काठमाडौंं, २९ भदौ । संविधान सभामा नयाँ संविधानको परिमार्जित विधेयकमा मतदान चलिरहेको छ । अहिलेसम्म ६४ वटा धारा पारित भएका छन् ।  अस्ती ३, हिजो ५४ र आज ७ वटा धारा पारित गरेको हो ।

आजको बैठकले अवशिष्ट अधिकार,  आर्थिक अधिकारको प्रयोग, राजस्व स्रोतको बाँडफाँड,  राष्ट्रपति, राष्ट्रपतिको निर्वाचन र राष्ट्रपतिको योग्यता सम्बन्धि व्यवस्था पारित गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने संशोधन प्रस्ताव  अस्वीकृत अस्वीकृत भएको छ । धारा ६२ मा राष्ट्रपति संसदबाट निर्वाचत हुने व्यवस्था गरिएको छ । यो धारामा ७ वटा संशोधन दर्ता भएका थिए ।

जसमध्ये धेरै जसोले राष्ट्रपति कार्यकारी प्रमुख रहने गरी जनताबाट प्रत्यक्ष चुनिने प्रस्ताव गरेका थिए । यी सबै प्रस्तावहरुलाई संविधानसभाको बहुमतले अस्वीकृत गरेको छ । यस्तै राष्ट्रपतिको सट्टा राजसंस्था राष्ट्रप्रमुख हुनुपर्ने राप्रपा नेपालको संसोधन प्रस्ताव पनि अस्वीकृत भएको छ । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतबिभाजनको माग गर्नुभएको थियो ।

तर मतबिभाजनका लागि आवश्यक पर्ने १० प्रतिशत अर्थात ६१ जनाको समर्थन जुटाउन नसक्दा मत विभाजन हुन सकेन । संविधानको विधेयक माथि एक सय ४ वटा संसोधन प्रस्ताव दर्ता भएकोमा ७३ जनाले फिर्ता लिएका छन भने ३१ वटा संसोधन प्रस्ताव माथि मतदान भइरहेको छ । संविधानसभाको बैठक केही बेरका लागि स्थगत भएको छ ।

११ बजे संसद बैठक बोलाइएकाले संविधानसभा बैठक स्थगित भएको हो । संसद बैठकमा आज भुकम्प पछिको पुर्ननिर्माण प्राधिकरण विधेयक पारित गरेर स्थगित गरि फेरी संविधानसभा बैठकलाई निरन्तता दिने संसद सचिवालले जनाएको छ । प्राधिकरण विधेयक पारित हुन नसक्दा सबै संयन्त्र निष्कृय भएका छन् ।