Thaha

Saturday 21 September - 6:30 pm NST

झापामा श्रृंखलावद्ध बिस्फोट, डिएसपीसहित ४ प्रहरी घाइते


लक्ष्मी काफ्ले
झापा, २९ भदौ । झापाको सुरुङ्गामा आज बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् । सुरुङ्गाको चर्चमा अज्ञात समूहले राखेको बम डिस्पोजल टोली नपुग्दै प्रहरीले बम नहुन सक्ने आशंकामा चलाएपछि बिस्फोट भएको थियो ।

बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रज्वल महर्जन, असइ देवनाथ यादव, हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल घाइते भएका हुन् । घाइतेमध्ये असइ यादवलाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको दुबै हात खुट्टामा चोट लागेको छ । घाइतेको बिर्तामोडमा रहेको वि एण्ड सी अस्पतालमा उपचार भइरहेको सहकर्मी लक्ष्मी काफ्लेले जनाएका छन् ।

यसैबीच, इलाका प्रहरी कार्यलय दमकका अनुसार गएराति साढे ११ बजेतिर दमक १० मा रहेको ज्योति चर्चमा बम पड्काइएको छ । एउटा बम गेटमा र अर्को भवनको छेउमा पड्काइएको डिएसपि इश्वर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार बमले झ्यालका सिसाहरु फुटेका छन् । यसैगरी खजुरगाछि ९ मा इण्डाइनियल वेष्ठल्याडमा पनि राति बम पड्काइएको छ । घटनास्थलमा हिन्दु मोर्चा नेपालका पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ ।