Thaha

Saturday 21 September - 6:16 pm NST

संविधानसभामा आजसम्म ५७ धारा पारित

काठमाण्डौं, २८ भदौ । संविधानसभाबाट आजसम्म संविधानका ५७ वटा धारा पारित भएका छन् । संविधानको विधेयकमा ३०२ वटा धारा र ३७ भाग छन् । बाँकी धारा भोली बिहान १० बजे बस्ने बैठकले पािरत गर्नेछ ।

संविधानसभाले पारित गरेसँगै नेपाल धर्मरिपेक्ष राष्ट्र नै कायम  हुनेछ । धर्म निरपेक्षताको ब्याख्या सहितको संशोधन पारित भएको छ । राप्रपा नेपालका कमल थापा लगायतले राखेको हिन्दू राष्ट्र हुनुपर्ने संशोधन प्रस्ताव संविधान सभाको बहुमतले अस्वीकृत गरेको हो ।

संविधानसभाले देवनागरी लिपीमा लेखिने सबै नेपाली भाषा सरकारी कामकाजको भाषा हुने लगायतको व्यवस्था पारित गरेको छ । त्यस्तै राष्ट्रिय झण्डा र राष्ट्रय गान परिर्वतन नहुने भएको छ  भने राष्ट्रिय जनावर गाई नै हुनेछ । राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसीले राखेको राष्ट्रिय जनावर गैँडा हुनुपर्छ भन्ने संशोधन प्रस्ताव संविधान सभाको बहुमतले अस्वीकार गर्यो । त्यस्तै अखण्ड नेपाल पार्टीका कुमार खड्काले दौरा सुरूवाल र गुन्यु चोली राष्ट्रिय पोशाक बनाउनुपर्ने भन्दै राखेको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको छ । अव सबै समुदायले आ आफ्नो पोशाकमा स्वतन्त्रता पाउनेछन् । 

गैरआवासीय नागरिकले राजनीतिक अधिकार नहुने गरी नागरिकता पाउनेछ्न । मृत्यूदण्डको व्यवस्था पनि नहुने भएको छ ।  मुलुकको हित विपरित विदेशीसँग सन्धि सम्झौता गर्ने, भ्रष्टाचारी, मानव हत्या, आगजनी तथा अन्य मानवताविराधी गम्भीर अपराध गर्नेलाई मृत्युदण्डसमेतको सजाय’ माग सहित नेमकिपाका सभाषद अनुराधा थापाले राखेको प्रस्ताव अस्वीकृत भएको हो । बेरोजगार नागरिकलाई भत्ता दिने प्रस्ताव पनि संविधानसभाको बहुमतले अस्वीकृत गरेको छ ।

धारा ३३ मा रहेको रोजगारीको हक सम्वन्धी व्यवस्थामा नेमकिपाकी सभासद थापाले प्रत्येक नागरिकलाई योग्यता अनुसार काम र काम अनुसारको पारिश्रमिकको हक हुने र रोजगारी उपलब्ध नहुँदासम्म जीवनयापनका लागि पुग्ने बेरोजगार भत्ता पाउने हक हुने व्यवस्था गर्न प्रस्ताव गर्नुभएको थियो ।

प्रमुख तीन दलको संयुक्त संशोधन प्रस्ताव बाहेक अरु कुनै पनि पारित हुने अवस्था नरहेको र मत विभाजनका लागि तीन दल बाहेक अरु कसैको पनि १० प्रतिशत अर्थात ६१ जना सभासद्को संख्या नपुगेकाले कुनै पनि धारामा आजसम्म मत विभाजन भएको छैन ।