Thaha

Saturday 21 September - 5:29 pm NST

संविधानसभामा संविधानका धारामा मतदान जारी

काठमाण्डौं, २८ भदौ । प्रमुख तीन दलका प्रमुख सचेतकले धर्म निरपेक्षताको व्याख्या सहित राखेको संशोधन प्रस्ताव संविधानसभामा बहुमतले पारित भएको छ । राप्रपा नेपालले मत विभाजनका लागि राखेको प्रस्तावमा १० प्रतिशत अर्थात ६१ जना सभासद् नपुगेपछि मतविभाजन हुन सकेन । राप्रपा नेपालका २१ जना सभासद् मात्र उपस्थित थिए । धारा ७ मा व्यवस्था भए अनुसार देवनागरी लिपिमा लेखिने सबै नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । धारा ८ मा रहेको राष्ट्रिय झण्डा र धारा ९ मा रहेको राष्ट्रिय गान, तथा निसाना छाप यथावत रहने गरी पारित भएको छ भने राष्ट्रिय जनावर गैडा राख्ने प्रस्ताव पनि अस्वीकृत भएको छ । गाई राष्ट्रिय जनावर, डाँफे राष्ट्रिय चरा हुनेछ भने नेपालको झण्डा पनि फेरिने छैन् । नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक हुनेछ’ भन्ने धारा संशोधन सहित पारित भएको हो । त्यस्तै दौरा सुरूवाल र गुन्यु चोली राष्ट्रिय पोशाक बनाउनुपर्छ भन्ने सभासद कुमार खड्काको संशोधन प्रस्ताव पनि अस्वीकृत भएको छ । जसका कारण सबै समुदायले आ आफ्नो पोशाकमा स्वतन्त्रता पाउने भएका छन् । धारा १२ मा रहेको वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताको विषयमा वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ’, भन्ने व्यवस्थालाई संविधान सभाले पारित गरेको छ । गैरआवासीय नागरिकले नागरिकता पाउने प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ । यस्तैगरी मृत्युदण्डको व्यवस्था गर्न भनी राखिएको प्रस्तावलाई पनि संविधानसभाले अस्वीकृत गरेको छ । संविधानको धारा १६ को उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानुन बनाईछैन भनिएको छ । संविधानसभामा अहिले संविधानको धारा पारित गर्ने क्रम जारी छ । संविधानमा ३०२ धारा ३७ भाग छन् ।