Thaha

Saturday 21 September - 5:14 pm NST

मधेसवादी दलले आन्दोलन शसक्त पार्ने

काठमाडौं, २८ भदौ । संविधान निर्माण प्रक्रियाबाट बाहिरिएका मधेशवादी दलले आन्दोलनलाई शसक्त बनाउने बताएका छन् । संविधान निर्माण प्रक्रिया अघि बढेपछि उनीहरुले अब सरकारसँग वार्ताको औचित्य समाप्त भएको बताएका हुन् । थाहा संचार नेटवर्कसँग कुरा गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तराइका जिल्लामा जारी आन्दोलन लम्बिने बताउनुभयो । आफूहरुले राखेका सेना परिचालन र कफ्र्यु फिर्ता र संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने मागलाई सरकारले बेवास्था गरेपछि अब आन्दोलनको बिकल्प नभएको यादवको भनाई छ । 
आन्दोलनलाई अझै सशक्त बनाउने बिषयमा आन्तरिक छलफलमा केन्द्रित हुने यादवले बताउनुभयो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले संविधानसभामा मतदानको प्रक्रिया सुरु भइसकेकाले अब सरकारसँग वार्तामा बस्नुको कुनै अर्थ नहुने बताउनुभयो । आफूहरुको आन्दोलन निरन्तर जारी रहने भन्दै चौधरीले आन्दोलनको स्वरुपबारे थप छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाको बैठक दिउँसो २ बजे बस्ने चौधरीले जानकारी दिनुभयो । मधेशवादी दलको अनिश्चितकालिन बन्दका कारण एक महिनादेखि तराईका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।