Thaha

Saturday 21 September - 5:24 pm NST

संविधानसभाको आजको बैठक ११ बजे बस्ने, परिमार्जित विधेयकमा मतदान हुने

काठमाडौं, २८ भदौ । संविधानसभाको आजको बैठकमा पनि संविधानको परिमार्जित विधेयकका हरेक धारा पारित गर्न मतदान हुने भएको छ । बिहान ११ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज धारा चारबाट पारित गर्न थालिने छ । हरेक धारा पारित गर्नका लागि संविधानसभाका कुल सदस्यको कम्तिमा पनि दुईतिहाइ संख्या हुनुपर्नेछ । २ सय ९७ धारा पारित गर्नका लागि आज र भोली समय लाग्नसक्ने अनुमान संविधानसभा सचिवालयले गरेको छ । आजको बैठक बिहान ११ बजे बसेर बीचमा ब्रेक गरेर फेरि बेलुकी सात बजेसम्म बस्नेगरी तय गरिएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो । 
आज पारित गर्न नसकिएका धारालाई भोलीफेरि पारित गरिनेछ । हरेक धारा छुट्टा छुट्टै पारित गरेपछि संविधानका सबै धारा एकमुष्ठ पारित गर्नुपर्ने संविधानसभा नियमावलीमा उल्लेख छ । नियमावली अनुसार हरेक सभासद्ले हस्ताक्षर गरेर हुन्छ या हुँदैन भन्ने विषयमा मतदान हुनेछ । एकमुष्ठ धाराहरु पारित भएपछि त्यसको एकमुष्ठरुपमा फेरि सभासद्ले हस्ताक्षर गर्नेछन । कम्तिमा दुईतिहाई सभासद्बाट हस्ताक्षर भएको संविधानको प्रारुपलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले प्रमाणिकरण गर्नु हुनेछ । यी सबै प्रकृयासक्नका लागि पर्सिसम्मको समय लाग्ने सचिवालयले अनुमान गरेको छ । संविधानसभा अध्यक्षले प्रमाणिकरण गरेको संविधानलाई राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानसभामै सार्वजनिक गर्नुहुनेछ । राष्ट्रपतिले सार्वजनिक गरेपछि नेपालको संविधान २०७२ लागु हुनेछ भने संविधानसभा संसदमा रुपान्तरण हुनेछ । जनआन्दोलनपछि झण्डै एक दशकमा नागरिकको चाहना अनुसार नयाँ संविधान आउने सुनिश्चित भएको छ । नेपालमा विक्रम संवत २००७ सालदेखि संविधानसभाबाट संविधान बनाउने कुरा उठेपनि यस पटक मात्र संविधान सुनिश्चित भएको छ ।