Thaha

Saturday 21 September - 5:38 pm NST

आन्दोलनरत दलसंगको वार्ताका विषमया मुख्य तीनदलले छलफल गर्दै

काठमाडौं,२७ भदौं । असन्तुष्ट दलहरुसँग वार्ता र संविधानमा मतदान प्रकृयाका बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ । कांग्रेस, एमाले र एकीकृत माओवादीका बैठक विहान ११ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । यसअघि बिहान ८ बजे बालुवाटारमा बैठक बस्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताले बैठक ११ बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संविधान निर्माण प्रकृया दुई दिनका लागि स्थगित गरेपनि कुनै पनि पक्षसँग औपचारिक वार्ता नभएपछि अव के गर्ने भनेर प्रमुख  दलको बीचमा छलफल हुने नेताहरुले बताएका छन् । तत्काल वार्ता नहुने अवस्थामा आजैदेखि मतदान प्रकृया शुरु गर्ने नेताहरुको भनाई छ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले औपचारिक वार्ता नभएको अवस्थामा आजैदेखि मतदान प्रकृया शुरु हुने बताउनुभयो । 
यसैबीच सरकारले थारुवान थरुहट संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्ने भएको छ । अहिले केहीबेरमा वालुवाटारमा वार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वार्ताको वातावरण बने नबनेको बारे बुझ्न आफूहरु अहिले ककेही बेरमा बालुवाटार पुग्ने वार्ता टोलीका सदस्य अमनलाल मोदीले जानकारी दिनुभयो । तर मधेसवादी दलहरुसँग भने अझै वार्ताको सम्भावना देखिएको छैन । फोरम लोकतान्त्रिकका महामन्त्री रामजनम चौधरीले अहिलेसम्म पनि वार्ताको सहज वातावरण नबनेको बताउनुभयो । यसैबीच आगामी कार्यक्रम र हिन्दुवादीहरुबीच कार्यगत एकता लागयत विषयमा छलफल गर्न राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक अहिले केही बेरमा पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो । आफूहरुका एजेण्डा मर्न नदिनका लागि भन्दै प्रकृयाबाट बाहिरिने निर्णय गरेको राप्रपा नेपालको हिजोको केन्द्रीय समिति बैठकले प्रकृयामा फर्कने निर्णय गरेको थियो ।