Thaha

Saturday 21 September - 3:33 pm NST

जनकपुर र महोत्तरी सुनसान, बारामा तीनवटा ट्रकमा आगजनी


काठमाडौं, २६ भदौ । हिजो हिंसात्मक घटना भएका पूर्वी तराइका जिल्ला आज विहानैदेखि सुनासन छन् । धनुषाको जनकपुरमा मानिसहरु घर बाहिर निस्किएका छैनन् ।

हिजो प्रहरीसँगको झडपमा ३ प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले जनकपुरलाई दंगाग्रस्ता क्षेत्र घोषणा गर्दै अनिश्चितकालिन कफ्र्यु लगाएको छ ।  प्रदर्शनको परिस्थिती हेरेर आवश्यकता अनुसार परिचालनका लागि सेना तयारी हालतमा राखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

महोत्तरी पनि विहानैदेखि सुनसान छ । अनिश्चितकालिन कफ्र्यु जारी गरिएकाले अहिले प्रदर्शनकारी सडकमा ननिस्किएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीमा हिजो प्रदर्शनकारीले उपचारका लागि लैजाँदै गरेका एक शसस्त्र प्रहरीलाई एम्बुलेन्सबाटै थुतेर हत्या गरेका थिए ।

प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको थियो । मधेशी मोर्चाको एक महिना देखि जारी आन्दोलन र स्थानीय प्रशासनको कफ्र्युका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।

यसैबीच, प्रदर्शनकारीले   विहान बारामा तीन वटा ट्रकमा आगजनी गरेका छन । बाराको मनहरवा ५ श्रीपुरमा रिलायन्स सुपर मिलबाट चीनी लोड गरेर निस्किएको ट्रकमा प्रदर्शनकारीले आगो लगाएका हुन् । आगलागीबाट ना ५ ख २९९५, ना ५ ख ८७६१ र ना ४ ख २९२७ नम्बरको ट्रक क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।