Thaha

Saturday 21 September - 3:27 pm NST

राप्रपा नेपाल संविधानसभामा फर्किने


काठमाडौं, २६ भदौ । राप्रपा नेपाल संविधानसभामा फर्किने भएको छ । सरकार र मुख्य तीनदलसंग वार्ता गरेर संविधानसभामा फर्किने तयारी राप्रपा नेपालले गरेको छ ।

यस विषयमा दिउँसो बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ । राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले संविधानसभामा फर्किने या नफर्किने भन्ने कुरा बेलुकीसम्ममा टुंगो लाग्ने बताउनु भयो । आजको बैठकमा संविधानजारी गर्ने प्रकृया, तराईमा भएको आन्दोलन लगायतका विषयमा छलफल गर्ने तयारी रहेको श्रेष्ठले बताउनु भयो ।

मुख्य तीनदलले एकपक्षिय रुपमा संविधान बनाउन लागेको भन्दै राप्रपा नेपाल प्रकृयाबाट बाहिरिएको थियो । त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पनि संविधानसभामा फर्किन लचिलो भएको छ । हिजो भएका अनौपचारिक छलफलमा  फोरम लोकतान्त्रिक संविधानसभामा फर्किन लचक भएको हो ।

उसले थारुसमुदायको माग सम्बोधन भए संविधानसभामा फर्किने तयारी गरेको छ । आजदिनभर हुने अनौपचारिक छलफलका आधारमा फोरम लोकतान्त्रिकले संविधानसभामा फर्किने या नफर्किने निर्णय गर्नेछ ।

हिजो प्रधानमन्त्रीसंग अनौपचारिक गरेका फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग अनौपचारिक छलफल गर्दै हुनुहुन्छ । अहिले केहीबेरमा हुने भेटवार्तामा आन्दोलनरत पक्षका मागका विषयमा छलफल हुनेछ ।