Thaha

Saturday 21 September - 3:31 pm NST

प्रेसविरोधी संविधान नबनाउन महासंघको खबरदारी

काठमाण्डौ, २५ भदौं । नेपाल पत्रकार महासंघले नयाँ संविधानमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन माग गर्दै काठमाण्डौमा खबरदारीसभा गरेको छ । 
नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारले बबरमहलमा भेला भएर प्रमुख राजनीतिक दललाई प्रेसविरोधी संविधान नबनाउन खबरदारी गरेका हुन् । सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष महेन्द्र विष्टले प्रेस र अभिब्यक्ति स्वतन्त्रताको दृष्टिले नयाँ संविधान २०४७ सालको संविधानजस्तो पनि नआउने भएकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले नयाँ संविधान पश्चगामी हुनै नसक्ने भन्दै महासंघको मागअनुसार लोकतान्त्रिक संविधान बनाउन दलहरुलाई आग्रह गर्नुभयो । ठूला दलले संविधानमा संशोधन हाल्दा पत्रकार महासंघले उठाएका मागहरु सम्बोधन हुनेमा आशावादी रहेकोमा बेवास्ता गरेको अध्यक्ष विष्टले बताउनुभयो । 
‘प्रतिबन्धात्मक ब्यवस्था संशोधन गरौं, संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गराऔं’ भन्ने नाराका साथ पत्रकार महासंघले दबाबमूलक अभियान जारी राखेको छ । क्रान्तिकारी पत्रकार संघका संयोजक गोविन्द आचार्यले संविधानलाई प्रेसमैत्री बनाउनु आन्दोलनको विकल्प नरहेको बताउनुभयो । 
प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्माले लोकतन्त्रका लागि लडेका पत्रकारलाई लोकतान्त्रिक भनिने दलले अंकुश लगाउन खोजेको भन्दै कडा आपत्ति जनाउनुभयो ।