Thaha

Saturday 21 September - 3:43 pm NST

दुई दिन संविधान निर्माण प्रक्रिया स्थगन गर्ने तीन दलको निर्णय / मधेशी मोर्चा अझै असन्तुष्ट

 काठमाडौं २५ भदौ । प्रमुख तीन दलले संविधान निर्माणको प्रक्रिया दुई दिन स्थगित गरेर असन्तुष्ट पक्षसँग वार्ता गर्ने निर्णय गरेका छन् । 
मधेसवादी सबै दलका सभासद्, राप्रपा नेपाल लगायतका महत्वपूर्ण दल संविधानसभाको प्रक्रियाबाट बाहिरिएपछि प्रमुख तीन दलले दुई दिन प्रक्रिया स्थगित गर्ने निर्णय गरेका हुन् । वार्ताका लागि संविधान निर्माण प्रक्रिया स्थगित गर्नुपर्ने मधेसी मोर्चा सहितका असन्तुष्ट पक्षको माग र सर्त थियो । प्रधानमन्त्री निवास वालुटारमा शुक्रबार बसेको कांग्रेस, एमाले र एकीकृत  माओवादीको बैठकले प्रक्रिया स्थगित गरेर वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेका एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । अब संविधान निर्माण प्रकृया आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित हुनेछ । ‘प्रक्रिया रोक्नु पर्ने मधेसी, थारु र राप्रपा नेपालको माग हो । त्यसैले हामी पर्सीसम्म प्रक्रिया रोक्न सहमत भएका छौं ।’ थाहा सञ्चारसँग एमाओवादी उपाध्यक्ष प्रकाशले भन्नुभयोे–‘यो बीचमा हामी वार्ता गरेर सहमति गर्ने प्रयास गर्छाैं ।’ 
यसअघि एकीकृत माओवादीले राखेको संविधान निर्माणको प्रक्रिया केही दिन स्थगित गरेर असन्तुष्ट दलहरुसँग वार्ता गर्नु पर्ने प्रस्ताव कांग्रेस र एमालेले अस्वीकार गरेका थिए । तर भारतीय राजदूतले तीनै दलका शीर्ष नेतासँग भेटेपछि संविधान निर्माणको माहौल बद्लिएको हो । यस्तै तीन दलबीच समानुपातिक समावेशी सिद्धान्तलाई सामाजिक न्यायको धारामा राख्ने सहमति पनि भएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 


मधेशी मोर्चा अझै असन्तुष्ट 
तर असन्तुष्ट पक्षले भने अझै पनि वार्ताको वातावरण नबनेको भन्दै वार्तामा नबस्ने बताएको छ । 
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ता हुने स्थिति अझै नबनेको बताउनुभयो । ‘तराईमा कफ्र्यू, दंगाग्रस्त क्षेत्र र सेना परिचालन फिर्ता गरिएको छैन । यस्तो अवस्थामा वार्ता हुन सक्दैन’ कर्णले भन्नुभयो । 
यस्तै, विजयकुमार गच्छदार नेतृत्वको मोर्चाका नेता रामजनम चौधरीले पनि तराईमा धरपकड र कफ्र्यू जारी रहँदासम्म वार्ता हुन नसक्ने बताउनुभयो ।