Thaha

Saturday 21 September - 1:33 pm NST

राप्रपा पनि संविधान निर्माण प्रकृयाबाट बाहिरीयो

काठमाण्डौं, २३ भदौ । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल पनि संविधान निर्माण प्रकृयाबाट बाहिरिएको छ । राप्रपा नेपालले आजै संविधानसभाका अध्यक्षलाई संविधान निर्माण प्रकृयाबाट बाहिरएको जानकारी गराएको छ । संविधानसभा भवनमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मुख्य तीन दलले आफूहरुलाई निषेध गरेर गएकाले संविधान निर्माण प्रकृयाबाट बाहिरिएको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जानकारी गराएको बताउन्भयो ।

प्रधानमन्त्री सुशील कोईरालाको आग्रहलाई वेवास्ता गर्दै राप्रपा नेपाल संविधान निर्माण प्रकृयाबाट बाहिरिएको हो । विहान प्रधानमन्त्री निवास वालुवाटार पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रधानमन्त्री सुशील कोईरालाले संविधान निर्माण प्रकृयाबाट नवाहिरिन आग्रह गर्नुभएको थियो । तर, राप्रपा नेपालका प्रमुख सचेतक गिरीले तीन दल निरङ्कुश ढंगले अगाडी बढ्दासम्म अब संविधान निर्माण प्रकृयामा सहभागि नहुने बताउनुभयो ।

आफूहरुका एजेण्डा सम्बोधन नगरी निधेष गरिएको र मधेसवादी दलहरु पनि प्रकृया वहिस्कार गरेर आन्दोलनमा रहेकोले संविधान निर्माण प्रकृयाबाट बाहिरिने निर्णय गरेको गिरीको भनाई थियो । यसैवीच राप्रपा नेपालले भोली उपत्यका तथा नेपाल बन्दका कुनै कार्यक्रम नरहेको जनाएको छ ।