Thaha

Saturday 21 September - 1:22 pm NST

प्रहरीको गोली लागेर ४ प्रदर्शनकारीको मृत्यु


काठमाण्डौं, २३ भदौ । महोत्तरी र सप्तरीमा प्रहरीको गोली लागेर ४ जना प्रर्दशनकारीको मृत्यु भएको छ । महोत्तरीको जलेश्वरमा ३ जना र सप्तरीको भारदहमा एक जनाको मृत्यु भएको हो ।

संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा प्रहरीको गोली लागि महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा कापरको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर घाईते भएकामध्ये थप ४ जनाको अवस्था गम्भिर छ । त्यस्तै रेडियो मिर्चीका सञ्चारकर्मी विकास मिश्र समेत घाइते भएका छन् ।

गाउँगाउँबाट हजारौँको सङ्ख्यामा मोर्चाका कार्यकर्ता प्रदर्शनका लागि जलेश्वर पुगेका थिए । महेन्द्र चोकमा भेला भएका प्रदर्शनकारीहरुको भिडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी भईरहेका बेला प्रहरीमाथि केही प्रदर्शनकारीले ढुँगा प्रहार गरेपछि तनाव सुरु भएको थियो । आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालयमा ढुँगा गर्दै न्यायाधीसको अवासमा समेत आगजनी गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरी उपरिक्षक सौरभ राणाले बताउनुभयो ।

प्रहरीले हानेको गोली लागेर आन्दोलनकारीको मृत्यु भएपछि तनाव बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले दिउँसो  साढे ४ बजेदेखी निषेधाज्ञा जारी गरेको थियो । आन्दोलनकारीहरुले निषेधाज्ञा समेत तोड्ने प्रयास गरेपछि प्रशासनले नगरपालीका क्षेत्रमा अनिश्चितकालका लागि कफर््यू लगाएको प्रहरी उपरिक्षक राणले बताउनुभयो ।