Thaha

Saturday 23 November - 9:43 pm NST

राप्रपा नेपाल पनि संविधानसभाबाट बाहिरियो

काठमाडौं, २३ भदौ। संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल पनि संविधान निर्माण प्रकृयाबाट बाहिरिने भएको छ ।

अध्यक्ष कमल थापाको निवास विशाल नगरमा बसेको कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रकृयाभर संविधानसभामा नजाने र सडक आन्दोलन जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो ।

आफूहरुका एजेण्डा सम्बोधन नगरी निधेष गरिएको, र  मधेसवादी दलहरु पनि प्रकृया वहिस्कार गरेर आन्दोलनमा रहेकोले संविधान निर्माण प्रकृयाबाट बाहिरिने निर्णय गरेको गिरीले बताउनुभयो । संविधान निर्माणमा प्रमुख तीन दलको सिण्डिकेट रहेको भन्दै त्यसलाई तोड्न अव सडक आन्दोलनको विकल्प नरहेको राप्रपा नेपालको ठहर छ ।

यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले मिलेर जानु पर्ने भन्दै संविधानसभाबाट बाहिरिने निर्णय नगर्न राप्रपा नेपाललाई आग्रह गर्नुभएको छ । आफूलाई भेट्न बालुवाटार पुगेका अध्यक्ष कमल थापालाई प्रधानमन्त्री कोइरालाले यस्तो आग्रह गर्नुभएको हो । हिजो एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग पनि अध्यक्ष थापाले आफूहरु प्रकृयाबाट बाहिरिने बताउनुभएको थियो ।