सप्तरीमा प्रहरीको गोली लागेर १ को मृत्यु, मोरङमा १६ राउण्ड हवाई फायर
काठमाडौं, २३ भदौ । सप्तरीको भारदहमा गोली लागेर एक जनाको मृत्यु भएको छ । स्कर्टिङमा गाडी संचालन गरेको प्रहरीलाई लक्षितगरी आन्दोलनकारीले आक्रमण गरेपछि जवाफी कारबाहीमा पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । झडपपछि त्यहाँको अवस्था तनावपूर्ण छ ।
यसैबीच, मोरङको बिराटनगरमा प्रदर्शनकारीले डिउटीमा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रहरीले १६ राउण्ड हवाइ फायर गरेको छ । झण्डै २ सयको संख्यामा रहेका प्रदर्शनकारीले बिराटनगर भन्सारको २ नम्बर ढाटमा डिउटीमा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि तनाव भएको थियो ।
प्रदर्शनकारीले केही महिला प्रहरीलाई दुव्र्यवहार गर्दै अन्य ५ जना पुरुष प्रहरीलाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेपछि हवाइ फायर गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । स्थिती नियन्त्रणमा लिने क्रममा तत्काल पुगेको सशस्त्र प्रहरीले १० राउण्ड र नेपाल प्रहरीले ६ राउण्ड हवाई फायर गरेको डिएसपी खरेलले जानकारी दिनुभयो ।
हवाई फायरपछि तितरवितर भएका प्रदर्शनकारीले मटिहर्वा प्रहरी चौकी घेर्न पुगेका थिए । त्यहाँ पनि अश्रुग्याँस प्रहार गरेपछि अहिले स्थिती नियन्त्रणमा आएको मोरङ प्रहरीले जनाएको छ । थप तनाव नहोस् भन्नका लागि बिराटनगरको सुरक्षा कडा पारिएको छ ।