Thaha

Saturday 21 September - 1:25 pm NST

वार्ताबाट समस्या समाधान गर्न राष्ट्रसंघको आग्रह

काठमाडौं १७ भदौ । संयुक्त राष्ट्रसंघले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चिन्ता व्यक्त गर्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ । 
महासचिव बान कि मुनले नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको भन्दै वार्ताबाट समस्या समाधानको आग्रह गरेको उहाँका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव मुनले पछिल्लो हप्ताहरुमा भएका प्रदर्शनमा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै बल प्रयोग छोडेर वार्तामा बस्न आग्रह गर्नुभएको छ । नेपालको शान्ति प्रकृयालाई सहयोग गरिरहेको स्मरण गराउँदै संयुक्त राष्ट्रसंघले नयाँ संविधान यसका लागि कोसेढुंगाका रुपमा लिएको बताएको छ । 
महासचिव मुनले नेपालका राजनीतिक दलले सम्झौताको मर्मअनुसार अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभएको छ । नेपाल स्थिति संयुक्त राष्ट्रसंघको कार्यालय नेपालका राजनीतिक नेतृत्वसँग निरन्तर सम्पर्कमा रहेको भन्दै संयुक्त राष्ट्रसंघले अहिलेको मौकालाई ऐतिहासिक अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेको छ ।