Thaha

Sunday 28 April - 3:41 am NST

तराईमा उखु खेतीप्रति किसानको आकर्षण घट्दै


गोपाल कामत,  
महोत्तरी ३१ साउन । तराईका जिल्लामा उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । महोत्तरी र सर्लाहीमा यस वर्ष गत वर्षभन्दा झण्डै ४० प्रतिशतले उखु खेती घटेपछि उखु प्रति किसानको अकर्षण घट्दै गएको हो । 

हरेक वर्ष उखुको मुल्य घट्दै जानु र तोकिएको मुल्य पनि समयमै नपाउनु उखु खेती घट्नुको प्रमुख कारण रहेको सम्बन्धित जिल्लाका चिनी उद्योगले गरेको अध्ययनले देखाएको छ । महोत्तरी र सर्लाहीका धेरै किसान उखु खेती छाडेर धान, मकै जस्ता अन्न बाली र व्यावसायिक तरकारी खेतीमा लाग्न थालेका छन् । 

महोत्तरीको रामनगरमा रहेको देशकै सबैभन्दा ठुलो चिनी उद्योग एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका प्रमुख उखु प्रबन्धक युगलकिशोर चौरसियाले महोत्तरीमा गएको वर्ष भन्दा यो वर्ष ६ हजार बिघा उखु खेती घटेको जानकारी दिनुभयो । महोत्तरीमा गएको वर्ष १६ हजार बिघा जमिनमा उखु खेती गरिएको थियो । 

देशमै सबैभन्दा धेरै उखु खेती हुने सर्लाहीमा पनि यो  वर्ष ३५ प्रतिशत भन्दा धेरै उखु खेती घटेको छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले उखुको उत्पादन लागत वर्षेनी बढ्ने तर मुल्य भने निरन्तर घट्दा किसानले उखु खेती मास्दै गएको बताउनुभयो ।