Thaha

Sunday 28 April - 6:59 pm NST

पुनर्निर्माणको काम शुरु

काठमाण्डौं २९ साउन । भूकम्पपछिको पुनर्निर्माणको काम आजदेखि शुरु हुने भएको छ । पुर्ननिमार्णको लागि सरकारले गठन गरेको ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण’ले आजदेखि काम थाल्न लागेको हो ।

गत वैशाख १२ को विनाशकारी भूकम्पले तहसनहस भएको भौतिक संरचनाको पुनःनिर्माण तथा राहत व्यवस्थापनका लागि असारको पहिलो साता प्राधिकरण गठन गर्ने अध्यादेश पारित गरिए पनि हिजो मात्रै प्राधिकरणले पुर्णता पाएको हो ।प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएलगत्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलले आजैदेखि आफ्नो जिम्बेवारी अनुरुप काम थाल्ने बताउनुभएको छ ।

प्राधिकरणले भूकम्पको प्रभावबाट क्षतिग्रस्त संरचनाको दिगो, दरिलो र योजनाबद्ध रूपमा तत्काल निर्माण तथा विस्थापित भएका व्यक्ति र परिवारको पुनर्वास तथा स्थानान्तरण गर्नेछ । प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरणमा प्रधानमन्त्रीले तोकेका चार मन्त्री, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकारको मुख्यसचिव र एक जना विज्ञ सदस्य रहने प्रावधान छ । 

अधिकारसम्पन्न प्राधिकरणले आफ्नो अवधिमा पुनर्निर्माण लागि ‘विपदपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन’ मा उल्लेख भएको छ खर्ब ७० अर्ब परिचालन गर्नेछ । पाँचवर्षे कार्यकाल रहने प्राधिकरणको कार्यावधि सरकारले एक वर्ष थप गर्न सक्ने प्रावधान छ । प्राधिकरणले भूकम्पबाट भएको क्षतिको यकिन गर्ने, प्रभावित क्षेत्र घोषणाको लागि सरकारसमक्ष सिफारिस गर्ने, पुनःनिर्माणको प्राथमिकता निर्धारण गर्ने, पुनःनिर्माण र पुनःस्थापनाका लागि आवश्यक नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्नेछ । 

भूकम्पले मुलुकभर सरकारी र निजी गरी आठ लाख ९ सय २२ भौतिक संरचनामा क्षति पुगेको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा गठित प्राधिकरणमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री रामशरण महत, सहरी विकास मन्त्री नारायण खडका, संस्कृति तथा पर्यटन मन्त्री कृपाशुर शेर्पालाई नियुक्त गरेको छ । प्राधिकरणको विज्ञ सदस्यमा भने तारानिधि भट्टराई नियुक्त हुनुभएको छ । उहाँले भूगर्भशास्त्रमा जापानको क्यूसु विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ ।