Thaha

Saturday 21 September - 1:34 pm NST

सुर्खेतमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु

 

काठमाडौं, २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाउँदा ३  जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट वीरेन्द्र नगरपालिका—४ भैरवस्थानका टिकाराम गौतम र यामबहादुर विसिको मृत्यु भएको र एक जनाको शनाखत नभएको नेपाली कांग्रेस सुर्खेतका कार्यबाहक सभापति उपेन्द्र थापाले जानकारी दिनुभयो ।

                 गोली लागी घाईते पत्रकार आइसिंह रोकायलाई उपचारका लागि लगिँदै । तस्वीर:(पत्रकार गणेश कन्चन भारतीको फेसबुक) 

प्रर्दशनका क्रममा झडप हुँदा घाईते भएका मध्य ५ जनाको सुर्खेतमा उपचार हुन नसकेपछि  ३ जनालाई काठमाण्डौं र  २ जनालाई नेपालगन्ज पठाइएको मध्यपश्चिम क्षेत्रीय प्रहरीले कार्यालय सुर्खेतले जनाएको छ । अन्य ५ जनाको मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमै उपचार भईरहेको छ ।

सुर्खेतमा विहानैदेखि प्रर्दशन सुरु भएको थियो । प्रर्दशन चर्किएपछि विरेन्द्रनगरमा दिउँसो साँढे १ बजेदेखि राति ९ बजेसम्मका कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । कर्फयु जारी गरेपनि प्रर्दशन भने रोकिएको छैन । आक्रोशित प्रर्दशनकारीले नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र सभासद् हृदयराम थानीको घर, प्रमुख तीन दलका पार्टी कार्यालय र जिल्ला प्रशासनलगायत केही सरकारी कार्यालयमा समेत तोडफोड गरेका छन् ।

 जिल्ला प्रशासन कार्यालयभित्रै पसेर प्रर्दशनकारीले तोडफोड गरेका छन्भने प्रहरीको गाडीसहित ६ वटा सवारीसाधानमा तोडफोड गरेका छन् । प्रर्दशनकारीले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रदेश विभाजन गर्दा मध्यपश्चिमका कर्णाली अञ्चल, सुर्खेत, जाजरकोट र दैलेखसहित सल्यान र रुकुमका केही भाग सुदुरपश्चिम क्षेत्रमा गाम्ने निर्णय भएको थियो ।