Thaha

Sunday 28 April - 6:33 am NST

हुलाक बैँक व्यवस्थित गरिदै


काठमाण्डौँ, २३ साउन । सरकारले हुलाक सेवा अन्तर्गत सञ्चालित बचत बैँकलाई थप व्यवस्थित गर्ने भएको छ ।

देशभर रहेका ६० वटा जिल्ला  र ८ वटा ईलाका हुलाक कार्यालयबाट सञ्चालित बैँकहरुको सबै काम कम्प्यूटरमार्फत गरी छिटो छरीतो सेवा प्रदान गर्न लागिएको छ । निजी तथा सरकारी स्तरका बैङ्क, सहकारीको विस्तार हुन थालेपछि ओझेलमा पर्न नदिन बैँकलाई प्रबिधियुक्त बनाउन पहल थालिएको हुलाक सेवा विभाग अन्तगर्तको धनादेश कार्यालयका प्रमुख निरन्जन श्रेष्ठले बताउनुभयो ।

नीजि बैँकहरुसँग प्रतिस्पर्धाका लागि अनलाईन सेवा विस्तार गरी सबै काम कम्प्यूटरमार्फत गर्न सफ्टवेयरको डिजाईन भईसकेको उहाँले बताउनुभयो । दक्ष जनशक्ति र नयाँ प्रविधिको अभाव अहिलेको मुख्य चुनौती रहेको भन्दै श्रेष्ठले लगानीको हक, खातासँख्या बढाउनका लागि गृहकार्य भईरहेको बताउनुभयो । ‘हुलाक बचत बैङ्क निर्देशिका २०६६ मार्फत बैंकिङ्ग सेवालाई सक्रिय बनाईएको छ ।

बर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँको कारोवार हुँदै आएको हुलाक बचत बैँकमा गत आर्थिक बर्षमा १ अर्ब ६५ करोड निक्षेप संकलन भएको छ । सर्वसाधारणले १ सय रुपैँयामा हुलाक बचत बैँकमा खाता खोल्न सक्छन् । बैँकले साधारण खातावाललाई ५ प्रतिशत र ७० बर्ष नाघेका जेष्ठ नागरीकलाई ६ प्रतिशत ब्याज दिने गरेको जनाएको छ । बचतको ६० प्रतिशतसम्म लगानी गर्ने गरेको र १० हजारदेखी ३ लाख रुपैँयासम्म निक्षेपकर्तालाई ऋण दिने गरीएको छ ।

देशभर अहिले ६५ हजार बचतकर्ता रहेको बैँकको खुदनाफा १४ करोड रुपैँया छ । दार्चुला, पाँचथर लगायत दुर्गम जिल्लाहरुमा अन्य बैँकभन्दा हुलाक बचत बैँकमा बचतकर्ताहरुको आकर्षण बढेको बैँकले जनाएको छ । दार्चुलामा झण्डै १३ करोड रुपैँया निक्षेप संकलन भएको कार्यालयले जनाएको छ ।