Thaha

Friday 03 May - 4:08 am NST

प्रमुख दलबीचको सहमति अन्योलमा

काठमाडौं, २३ साउन । जनताबाट प्राप्त सुझावअनुसार संविधानका विवादित विषयमा सहमति जुटाउने प्रयासमा रहेका प्रमुख दलका शीर्ष नेताहरुबीचको सहमति अन्यौलमा पर्दै गएको छ । 
संघीय प्रदेशको सीमांकनको विषयमा कुरा नमिल्दा एक साताअघिदेखि नै छलफल गर्दै आएका शीर्ष नेताबीचको सहमति अनिश्चित बन्दै गएको हो । संवाद समिति सभापति एवं विशेष समितिका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुको लगातारको छलफलले अरु विषयमा टुंग्याए पनि फरक–फरक प्रस्तावका कारण सीमांकन विषय टुंगिन नसकेको जानकारी दिनुभयो । उहाँले संविधान निर्माणका क्रममा आठ वर्षदेखि आफूहरु फेल हुँदै आएको टिप्पणी गर्नुभयो । सफल हुन प्रयास जारी राख्नुपर्ने बताउँदै सभापति भट्टराईले भोलि एक वर्षसम्म समय दिन  संवाद समितिका सदस्यहरुलाई आग्रह गर्नुभयो । 
शीर्ष नेताहरुबीच विवाद बढ्नाले आजका लागि तय गरिएको संवाद समिति बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । हिजो नै संघीयता, धर्मनिरपेक्षता, संविधानको प्रस्तावनालगायत विषयमा बिट मार्न मात्र बाँकी रहेको बताएका थिए । तर, सीमांकनको विषयमा असमझदारी बढेपछि आज दिउँसो संवाद समितिको बैठक दुई पटक बस्दै नबसी स्थगित गरिएको थियो । जनताको सुझाव समेटेर प्रतिवेदन बनाउन जिम्मा पाएको शीर्ष नेता सम्मिलित विशेष समितिले ९ दिन बितिसक्दा पनि संविधानको विवाद मिलाउन सकेको छैन । भोलि १ बजेभित्र विवाद मिलाउन प्रयास गरिने सभापति भट्टराईको भनाई छ ।