Thaha

Saturday 27 April - 11:00 pm NST

तराईका आधाभन्दा बढी खेत बाँझै

सरस्वती अधिकारी


काठमाडौं, १४ साउन । कमजोर मनुसुनका कारण पानी नपर्दा पूर्वी तराईका ८ जिल्लामा अझै धान रोपाईँ हुन सकेको छैन । खडेरीका कारण सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट जिल्लाको आधाक्षेत्रमा पनि धान रोपाईँ भएको छैन । सिराहामा सबैभन्दा कम १७ प्रतिशत क्षेत्रमा मात्र रोपार्इँ भएको छ ।

सप्तरी, धनुषा, महोत्तरीमा २० प्रतिशत, सर्लाही र रौतहटमा ३० प्रतिशत जमिनमा मात्र रोपाई भएको कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो । बारा र पर्सामा भने धानखेतीका लागि योग्य जमिनमध्ये आधा भागमा रोपार्इँ सकिएको छ ।

धान रोपिएका जिल्लाहरुमा पनि पानीको अभावले गर्दा धानको विउ पहेँलो हुने र मर्ने समस्या देखिन थालेको कृषकहरुको भनाई छ । कृषि मन्त्रालयले भने आकाशे पानीको भरमा परेर धान रोपाई हुन नसकेका तराईका जिल्लामा सिँचाई सुविधा प्रदान गरी रोपाई गर्ने तयारी गरेको छ ।

प्रवक्ता ठाकुरका अनुसार एउटा जिल्लामा दुई सयका दरले स्यालो ट्यूबेल जडान गरी धान रोप्ने व्यवस्था गरिँदैछ । साउनको दोस्रो सातासम्म देशैभर गरी ६६ दशमलब ५ प्रतिशत अर्थात ९ लाख ६० हजार हेक्टर क्षेत्रफलमा धान रोपार्इँ सकिएको छ । झण्डै १५ लाख हेक्टर धान खेतियोग्य जमिनमध्ये गतवर्ष १४ लाख २० हजार हेक्टरमा धान रोपिएको थियो ।

कृषि मन्त्रालयको तथ्याङक अनुसार असार महिनादेखि अहिलेसम्म सुदुरपश्चिममा ९७, मध्यपश्चिममा ८१, पश्चिममा ७७, मध्यमाञ्चलमा ५१ र पूर्वाञ्चलमा ५८ प्रतिशत क्षेत्रफल अर्थात देशैभर गरी ६६ दशमलब ५ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराती नेपालगन्ज, पोखरा, गोरखा, हेटौँडा लगायतका ठाउँहरुमा भारी वर्षा भएपनी पूर्वी तराईका जिल्लाहरुमा अझै पानी पर्न सककोे छैन । अझै केही दिन काठमाडौं र पश्चिमी क्षेत्रबाहेक अन्य ठाउँमा मनसुनी प्रणाली सक्रिय नभएकाले पानी पर्ने सम्भावना नरहेको मौसवीद्हरुले बताएका छन् ।

ठूलो पानी पर्ने सम्भावना नदेखिएपछि धान उत्पादन गतवर्षको भन्दा घट्ने अनुमान गरीएको छ । तर कृषि मन्त्रालयले सिँचाईको व्यवस्था, उन्नत जातको धानको विउ लगाउन कृषकहरुलाई प्रेरित गर्दै धान उत्पादनमा कमि हुन नदिने बताएको छ ।